जाकार्ता । राष्ट्रिय खेलकुद परिषद्का केशव कुमार विष्टले इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा नेपालको पदकको आशा अझै बाँकी रहेको बताएका छन् ।
शुक्रवार जाकार्तामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालले १९ खेलबाट पदकको आशा गर्न सकिने बताएका हुन् ।
‘एशियाड’ सहभागी २९ खेल मध्ये नेपाल १० खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तर, पदक भने अहिलेसम्म ल्याउन सकेको छैन ।
सदस्य सचिव विष्टले सार्क राष्ट्रका छिमेकी मुलुक भारतले पदक ल्याइरहँदा नेपाल पदक बिहिन हुँदा दुख लागेको बताए । उनले भनेका छन् ‘नेपालको खेल स्तर निकै खस्केको रहेछ ।’
साथै, उनले नेपालले पदकको खाता खोल्न नसके पनि खेलाडीहरुले नयाँ कीर्तिमान बनाउन खेल स्तरमा वृद्धी गरेको रेडिमेड जवाफ दिएका छन् ।
‘हाम्रो खेलाडीहरु प्रविधिमा पनि चुकेका छन् । प्रतिस्पर्धा गर्ने बेलामा खेलाडीहरु नर्भस भएको देखे । त्यस कारण उनीहरुले राम्रो प्रर्दशन गर्न सकेनन् । हामीले यो प्रतियोगिताबाट उन्नत स्तरको प्रशिक्षणको पाठ सिकेका छौँ । अरु राष्ट्रका खेलाडीहरु सामु हाम्रो खेलाडीहरु निक्कै कमजोर रहेछन् ।’ उनले थपे ।
सदस्यसचिब विष्टले खेलाडीहरुले गरेको मेहनत र पाएको प्रशिक्षणबाट त्यहि अनुरुप नतिजा पनि ल्याएको स्विकारे । उनी भन्छन् ‘खेलाडीहरुले जस्तो प्रशिक्षण पाए, जुन तरिकाको अवसर पाए, जस्तो वातारणमा हुर्के र घुलमिल भए । नेपाल सरकारले लगानी गरेको बजेर र सिमित श्रोत साधानको आधारमा खेलाडीहरुले प्रर्दशन गरेको छ ।’
उनले ‘एशियाड’मा खेलाडीहरुले पदक ल्याउन नसक्दा सहानुभूति दिनु पर्नेमा आलोचना गर्नु उचित नरहेको पनि जानकारी दिए ।
‘खेलमा हारजित त भइहाल्छ, यसपटक हामीले धेरै पदकको अपेक्षा गरेका थियौँ । तर, भने जस्तो कहाँ हुन्छ र ! पदक नआउदैँमा केही अपराध गरेजस्तो हिनताबोध भएर हिड्नु पर्दैन जारी प्रतियोगिताबाट सिकेको पाठ र अनुभबलाई ‘साफ’ च्याम्पियनसिपमा राम्रो गर्नेछौँ’ उनले थपे ।
एशियाली खेलकुदमा नेपालको प्रर्दशन पहिले देखि नै खस्कदो छ । बन्द प्रशिक्षण पर्याप्त समय नदिइनु, कम तयारी हुनु र पदक ल्याउने खेललाई पहिलो प्राथमिकतामा राख्न नसक्दा नेपाल जारी ‘एशियाड’ पदक बिहिन बन्न सक्ने आँकलन हुन थालिसकेको छ ।
मार्सल आर्टको तेक्वान्दो खेल ‘एशियाड’मा नेपालका लागि सर्वाधिक पदक भित्राएको खेल हो ।
तेक्वान्दोकी सविता राजभण्डारीले ल्याएको रजत पदकको रेकर्ड अहिलेसम्म कुनै खेलाडीले तोड्न सकेको छैन । तर, इन्डोनेशिया ‘एशियाड’मा भने तेक्वान्दोमा सहभागी सबै खेलाडी पहिलो र दोस्रो चरणबाटै बाहिरिदा यो खेल पदक बिहिन बन्यो ।
खेलकुद मन्त्रायल र राष्ट्रिय खेलकुद परिषद्ले समयमा नै तेक्वान्दोलाई पहिलो प्राथमिकतामा राखेर खेलाडीलाई प्रशिक्षण दिएको भए पक्कै यो खेलले पदक ल्याउन सक्थ्यो ।
अरु राष्ट्रका खेलाडीहरुलाई ‘एशियाड’को लागि भनेर २ वर्ष देखि नै बन्द प्रशिक्षण दिन्छन् । तर, नेपालको खेलाडीलाई भने प्रतियोगिता शुरु हुनु २,३ महिना बाँकी रहदा बल्ल बन्द प्रशिक्षणमा राख्ने चलन छ ।
यस्तै कारणले ठूलो प्रतियोगिताबाट पदकको आशा गर्न बेकार रहेको खेलाडी तथा प्रशिक्षकहरुको गुनासो छ । जारी एशियाली खेलमा ल्याएको खराब नजिताबाट नेपालको खेलकुदसँग सम्बन्धित निकायहरुले पाठ सिक्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया