बिम्सटेक सम्मेलन : यस्तो बनाईंदैछ राजधानी (फोटोफिचर)

चौंथो बिम्सटेक सम्मेलन अर्को साता नेपालमा हुँदैछ । सरकारले सम्मेलनको सबै जसो तयारी सम्पन्न गरिसकेको छ । 

लामो समयदेखि निद्रामा रहेको सरकार एकाएक जागेपछि सबैजसो  सञ्चारमाध्यमका फ्रन्ट पेज, ब्रेकिङ, ब्यानर र ‘प्राईम केन्टेन्टहरु’ भरिभराउ बनेको छ ।  

सडकका बेहाल तस्वीरले फोहोर हुने सामाजिक सञ्जाल अहिले सडक मर्मत, सडक सरसफाई, वाल पेन्टिङ, जेब्राक्रसिङ, स्वागतद्वारका तस्वीरले भरिभराउ छ । कोही स्टाटस लेख्दैछन्, ‘जेब्राक्रसिङमा रङ पोत्न मोदी नेपाल आउनुपर्ने । हैट !’

केही ट्वीट गर्दैछन्, “मेरो देशले गोकर्णको रात्रिभोज क्यान्सिल गर्यो अरे । कारण : बौद्ध जोरपाटीको बाटो रे । कठै !” कतिपय प्रयोगकर्ताले ठीक हो भन्दै खुशी जनाएका छन् । बिम्सटेकका लागि मात्रै सरकार तातेको भन्दै सरकारको आलोचना पनि उतिकै भइरहेको छ ।

बिम्सटेकको अन्तिम तयारीमा जुटेको सरकार अहिले काठमाडौं रङ्ग्याउन व्यस्त छ । झरी परिरहँदा छाता ओढेर सडक पिचदेखि बत्तिको तार मिलाउनेसम्मको काम भइरहेको छ । चार वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका काठमाडौंवासीले सडकमा धान रोपेर सरकारको प्रतीकात्मक विरोध गर्दा पनि नबनेको सडक धमाधम पुनर्निर्माण र व्यवस्थापन भइरहेका छन् ।

त्यसैले काठमाडौंका मुख्य सडकमा खाल्डा टालटुल पारिएको छ । कतै सडक विभागले देखिहाल्यो भने पनि टाल्न निर्देशन दिइहाल्छ । काममा पहिले जस्तो पखौँ न भन्ने प्रवृति छैन । ढिला सुस्ती पनि हुन्न । दिउँसै गाडी जाम गराएर भएपनि पिच भइरहेको छ । बिम्सटेकका पाहुना हिँड्ने माइतीघर–तिनकुनेको खाल्डा सबै पुर्ने काम भइरहेको छ । त्यस्तै थापाथली–त्रिपुरेश्वर–कलंकी सडकखण्डमा पनि खाल्डाखुल्डी टाल्ने काम भइरहेको छ । 

……………….

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको संयोजकत्वमा रहेको भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति अन्तर्गत ३ वटा उप समिति रहेका छन् । 

उप समितिले पाहुनाहरूको आवागमन हुने उपत्यकाका मुख्य स्थान तथा चोकहरूमा कुल ७० वटा स्वागतद्वार निर्माण गर्ने भएको छ । 

त्यस्तै, सरसफाइ र भौतिक पूर्वाधार उपसमितिले समेत आ–आफ्ना जिम्मेवारीका काम भदौ १२ अगावै पूरा गर्ने गरी आफ्नो कामलाई अगाडि बढाइ रहेका छन् । 

पाहुनाहरूको स्वागतका लागि नेपाली संस्कृति झल्काउने विभिन्न झाँकी लगायतका कार्यक्रमको आयोजना गर्ने बताइएको छ । 
६ वटा स्वागतद्वार बनाउने जिम्मा महानगरको भागमा परेको छ । 


 

तस्वीर : सरोज घिमिरे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?