जीवनलाई ‘एक्स्पेरिमेन्ट’ गरिरहने विप्लव प्रतीक : जो मायामा हैन, विछोडमा रम्छन्

म जङ्गली फूल हुँ । जङ्गलमा फूलेको फूलको कुनै माली हुँदैन । आफैं फूल्छ, सुवास छर्छ, ओइलाउँछ, झर्छ । तर, सुन्दर हुन्छ, गमलाको फूल भन्दा । गमलाको फूल र जङ्गली फूल फरक हुन्, जसरी उमार्नु र उम्रिनु फरक हो । – विप्लव प्रतीक ।

आफूलाई जङ्गली फूल भन्ने विप्लव प्रतीक साहित्य फूलबारीमा मगमगाउने ‘प्रेमका प्रतीक’ हुन् । उनी प्रेम गर्छन् । अनि गर्न सिकाउँछन् । 

आफू अक्षरसँग खेल्छन् अनि उनले कोरेका अक्षरहरु मान्छेको मनसँग । पाठकलाई हर्ष वा विस्मातको चरम सीमासम्म पु¥याउनु उनको रचनाको विशेषता हो ।

मानव संवेदनालाई स्पर्श गर्दै भिन्नै संसारमा डो¥याउँछन् उनका शब्दहरुले । 

हुन त अक्षर खेती गर्नेहरुको कमी छैन नेपाली साहित्यमा तर, विप्लवका कृतिहरु अन्य साहित्यकारको भन्दा फरक छन् जसरी उनी आफैं फरक छन् जमातमा रुमलिएका साहित्यकार भन्दा ।

चराहरुको बथानमा मयूर परैबाट चिनिए जस्तै । उनी ठ्याक्कै चिनिन्छन् ।

साधुको जस्तो लामो कपाल (त्यसको पनि आफ्नै छुट्टै कथा छ) पालेका विप्लवलाई कतिले चुल्ठे कवि पनि भन्छन् । त्यस्तै कतिका लागि उनी पियक्कड कवि पनि हुन् ।

‘ब्राण्डेड रक्सी मात्र पिउने पियक्कड ।’ उनले करेक्सन गरे । पिउने कुरालाई नकारेनन् ।

सानो कद, चक्लेटी अनुहारको चार्म, अनि पर्फेक्ट ड्रेसिङ सेन्सले उनलाई झनै जवान देखाउँछ ।

उनको उमेरका बारेमा प्रश्न गर्दा उनी उखानै उल्ट्याउँछन् अनि हाँस्दै टारिदिन्छन् ‘महिलालाई उनीहरुको तलब र पुरुषलाई उनीहरुको उमेरका बारेमा कहिले नसोध्नु !’ 

विप्लवको चेहरामा बेग्लै किसिमको आभा छल्किन्छ । आँखाले एकैपटक धेरै कुरा बताउन चाहेजस्तो, अनुहारले त्यही भावलाई कैद गरेर प्रतिबिम्बित गर्न खोजेजस्तो ।

तर शब्द, अहँ ! फारु गर्दै बोल्ने कवि हुन् उनी ।

उनको चेहरा मात्र हैन पूरै व्यक्तित्व नै असाधारण किसिमको छ । असाधारण यस कारण कि उनी आफ्नै सिद्धान्तमा बाँच्न रमाउँछन् । आफ्नो मनले अह्राएको काम गर्न दोहो¥याएर सोच्दैनन्् । 

बेफिक्री !

बिन्दास पाराको ।  

‘मनको बाटो पच्छ्याउन सजिलो हुन्छ ?’ 

‘सजिलो छ, मेरो लागि । मनले अहिलेसम्म अरुका लागि नराम्रो नचिताएको भएर मनले चिताएको सबै पुगेको हुन सक्छ ।’

कुनै गुनासो छैन जीवनदेखि ?

उम्हम् ! नो !

प्रश्न खस्न नपाउँदै उत्तर आउँछ । 

***

ढकमक्क दुबोसरि हरेक क्षेत्रमा उत्तिकै मौलाएका छन्, उनी । मखमली मन भएर होला उत्तिकै रुचाइन्छन् पनि । 

व्यक्ति एक, आयाम अनेक । 

उनले दजर्नौं गीत लेखेका छन्, केही थान पुस्तक पनि । 

गीत, साहित्य, सिनेमा, संघसंस्था लगायत विभिन्न आयाममा फैलिएका विप्लव जीवनसँग एक्सपेरिमेन्ट गरिरहन्छन् । हरेक एक्सपेरिमेन्टमा केही नयाँ प्राप्त गर्ने आशमा । 

विप्लव जीवनलाई जीवन जसरी बाँच्छन् । खुकुलो गरी । 

आफूलाई एकै ठाउँमा बाँध्ने, कस्ने तत्त्वदेखि टाढै रहन्छन् । 

यस्ता कमै काम होलान् जुन विप्लवले गरेका छैनन् । कमै ठाउँ होलान् जहाँ विप्लव पुगेका छैनन् ।

भन्छन् नि जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि ! यही भनाइका जीवन्त उदाहरण हुन् विप्लव ।

उनी आफ्ना कविता, गीतमा शब्द होइन भाव भर्छन् । त्यसैले उनका शब्दहरु सुनिँदैनन् । निष्फिक्री महसुस गरिन्छन् । मनबाटै । 

उनका शब्दहरु यसरी संयोजित भएर मुस्कुराउँछन् मानौं ती शब्द नै होइनन्, क्यानभासमा पोतिएका सुन्दर रंगहरुबाट निर्मित बिछट्टै सुन्दर चित्र हुन् ।

शब्दहरुको चित्र, जसले हरेकको जीवनलाई कुनै न कुनै रुपमा चित्रित गर्छन् ।

त्यसो त उनी आफैं पनि प्रेममा परेका छन् । एकपटक होइन पटक पटक । उनलाई सधैं प्रेममा परिरहुँ जस्तो लाग्छ । एकपटक मात्र होइन । पटक पटक ।  

विशेष गरी प्रेमलाई बिम्ब बनाएर कविता लेख्ने विप्लवलाई ‘लभ पोयट’ का रुपमा चिन्नेहरुको जमात पनि सानो छैन । प्रेममा परेका जोडीहरु उनका कवितामा आफ्नो प्रेमको ढुकढुकी महसुस गर्छन् ।

त्यसो त उनी आफैं पनि प्रेममा परेका छन् । एकपटक होइन पटक पटक । उनलाई सधैं प्रेममा परिरहुँ जस्तो लाग्छ । एकपटक मात्र होइन । पटक पटक ।  

उनको विचारमा एउटा लेखकलाई प्रेमले नयाँ नयाँ सिर्जना गर्ने उर्जा दिन्छ । माया बाँध्ने वा कुनै कृत्रिम परिवन्ध मात्र होइन, संसारका हरेक विषयमा ।

तर उनलाई भने माया भन्दा विछोड मनपर्छ । विछोड पनि माया जस्तै । पटक पटक ।

‘म उसलाई माया गरुँ । उसलाई थाहा नहोस् । बस् माया मात्र गरिरहुँ । बेपर्वाह । सम्बन्ध हुनुपर्छ भन्ने छैन ।’ यसो भन्दै गर्दा उनी केही मुस्कुराए । केही सम्झे जस्तो गर्दै ।

‘हो यसरी बसेको मायाबाट रचिएको कविताले आफ्नो भन्दा  पनि धेरै पाठकको मन बिथोल्छ । रेट्छ । त्यही हो साहित्कारको उपलब्धि ।’ विप्लव थप्छन् । 

शायद, ‘प्रेम’ को छुट्टै ‘इन्साइक्लोपिडिया’ छ उनीसँग । 

शायद, प्रेम नै उनको भाषा हो । 

***

उनले लेखेको गीत ‘हर रात सपनीमा ऐठन हुन्छ’ ले त्यसैगरी सबैको मन छोयो । धेरै स्रोताको मथिङ्गल हल्लायो ।

देश छोडेर छानो टाल्ने सपना बोकेर विदेशीएका युवामा बेचैनी बढायो । मनका अन्तरकुन्तर दुखायो । अदृश्य रुपमा । 

आजसम्म पनि जब असार साउनमा झरी शुरु हुन्छ । पहिरोले आतंकित पार्छ । माटोका घरमाथिका पहाडहरुले धैर्यता गुमाउँछन्, त्रासले मुटु काम्छ, अनि यो गीत उत्तिकै ताजा बन्छ । गुन्गुनाइन्छ । 

‘मैले मेरो बुवा भनेर सम्बोधन गरेको भए शायद यति धेरैको मन छुँदैनथ्यो यो गीतले । कसैलाई नतोकी लेख्नाले नै सबैले आफ्नो भाव गीत बनेर आएको महसुस गरेका हुन् ।’

विप्लवले यो गीत आफ्ना पितालाई समर्पित गरेका छन् । आफू र बुवा सँगै नहुँदा वर्षा ऋतुमा आफ्ना बुवालाई सम्झेर लेखेको गीत हो यो ।

‘मैले मेरो बुवा भनेर सम्बोधन गरेको भए शायद यति धेरैको मन छुँदैनथ्यो यो गीतले । कसैलाई नतोकी लेख्नाले नै सबैले आफ्नो भाव गीत बनेर आएको महसुस गरेका हुन् ।’ गीतको दुई लाइन गुन्गुनाएर विप्लवले बताए ।

यस्तै अभया सुब्बाको आवाजमा रहेको विप्लवको ‘म तिम्रो लागि सारा संसार’ भन्ने गीत पनि अझै उतिकै लोकप्रिय छ । 

यद्यपी, यति लोकप्रियताका बावजुद विप्लवमा अहमताको एउटा थोप्लोसम्म पनि छैन ।

उनका फ्यानहरु छन् । तर, विप्लव उनीहरुलाई आफ्नो फ्यान मान्दैनन् ।

‘किनकी म सेलिब्रेटी नै होइन । मेरा प्रसंशक सबै मेरा साथी हुन् । जुन दिन म उहाँहरुलाई मेरो फ्यान मान्छु, त्यो दिन मेरो सिर्जना मर्छ ।’ सजिलै आफ्नो सरलता र शब्दलाई घोलेर जवाफ फर्काउँछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?