भैरहवा । रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थानान्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरीमाथी नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।
डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् ।
कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिनै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।
‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौँ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।
जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया