जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ ‘एशियाड’ अन्तर्गत नेपाल आठौँ दिन पनि पदक बिहिन बनेको छ ।
पदकको आशा गरिएको कराँते र बक्सिङ खेलका केही खेलाडीले पदक जित्न सकेनन् ।
कराँतेको महिला कातामा नेपालकी चन्चला दनुवार अन्तिम १६ को खेलमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएकी छिन् । प्रि-क्वाटरफाइनलको खेलमा नेपालकी दनुवार मकाउकी साउ सो लामसँग ५-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
चन्चलाले उत्तर कोरियाकी खेलाडी काङ जु उइलाई ३-२ अंकले पराजित गर्दै कास्य पदक नजिक पुगेकी थिइन्।
तर, कास्य पदकका लागि चन्चलाले थाइल्यान्डकी मोन्सीचा नाराराताकसँग प्रतिस्पर्धा गरिन्। यो खेलमा उनी ५-० ले पराजित हुँदा नेपालले कास्य पदक जित्ने मौका गुमाएको थियो।
त्यस्तै, शनिवार नै भएको अर्को खेलमा महिला ६८ केजी माथि तौल समूहमा रिता कार्की क्वाटरफाइनलमा चीनकी गाओ मेनमेनसँग पराजित हुँदै पदक बिहिन बनिन् ।
यता, शनिवार नै सम्पन्न कराँतेको पुरुष कातामा नेपालका पर्शुराम बास्तोला अन्तिम १६ बाटै बाहिरिए। उनी अन्तिम १६ को खेलमा कतारका हसेम अदामसँग ५-० अंकले पराजित भए ।
अब कराँतेमा आइतबार नेपालका सोनाम लामाले ६० केजी मुनी तौल समूहमा भियतनामका खेलाडीसँग, ६७ केजी मुनि विजय लामाले जापानका खेलाडीसँग र सुनीता महर्जनले ६१ केजी मुनी तौल समूहमा थाइल्यान्डकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।
बक्सिङमा पनि नेपालले खराब प्रर्दशन
शनिवार नै सम्पन्न भएको बक्सिङ खेलमा पनि नेपालले खराब प्रर्दशन गरेको छ ।
महिला लाइट ६० केजी तौल समूहको खेलमा नेपालका पुनम रावल अन्तिम १६ बाटै बाहिरिएकी छिन् । रावल चीनकी याङ वेङलुसँग ५–० अंकका आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।
यता, तेजबहादुर देउवा पनि पहिलो चरणको खेलमा लाओसका खामसाथोनसँग पराजित हुँदै प्रतियोगिताबाट आउट भए । प्रतियोगितामा आइतबार तीन स्पर्धामा नेपालको सहभागिता जनाउने छ ।
महिलाको फ्लाइ ५१ केजी तौल समूहमा बिमला श्रेष्ठले मंगोलियाकी ओचिर्वात जर्गालान, पुरुष फ्लाइ ५२ केजी तौलमा प्रेम चौधरीले फिलिपिन्सका रोगेन ल्याडन र पुरुष वेल्टर ६९ केजी तौल समूहमा बिष्णुप्रसाद घलेले कतारका थुलासीमारानसँग भिड्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया