काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरेको हो ।
गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २,५०० रुपैयाँ रहेकामा अब १,६०० रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २,३०० रुपैयाँबाट घटाएर १,६०० रुपैयाँ नै कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २,१०० रुपैयाँ र १,९०० रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १,५०० रुपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७०० रहेकोमा अब २,४०० रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २,४०० रुपैयाँ रहेकोमा अब २,१०० रुपैयाँ र १०० एमबीपीएस भन्दा बढीको २,१०० रुपैयाँ रहेकोमा अब १,८०० रुपैयाँ कायम गरिएको उनको भनाइ छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया