इंग्ल्याण्ड। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ ।
आफ्नो घरेलु मैदानमा ओल्ड ट्राफोडमा सोमवारराति सम्पन्न भएको खेलमा म्यान्चेस्टर युनाइटेड टोट्नह्यामसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफ शुरु भएको ५ मिनेट पनि बित्न नपाउँदै टोट्नह्यामले गोल गर्न सफल भयो ।
खेलको ५० औँ मिनेटमा टोट्नह्यामका लागि ह्यारी केनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
काइरान ट्रिपियरले कर्नरबाट दिएको बललाई केनले सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । केनले गोल गरेको २ मिनेटमा नै टोट्नह्यामले दोस्रो गोल गर्यो।
खेलको ५२ औँ मिनेटमा लुकास मोउराले गोल गर्दै क्लबलाई अग्रतालाई दोब्बर बनाए । खेल अवधिभर म्यान्चेस्टर युनाइटेडलाई दवावमा राखेको टोट्नह्यामका लागि मोउराले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे ।
उनले खेलको ८४ औँ मिनेटमा गोल गरे । निर्धारित समयसम्म म्यान्य्ले पनि केहि गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् ।
जीतपछि ९ अंक बनाएको टोट्नह्याम लिगको दोस्रो स्थानमा छ ।
त्यस्तै, समान ९ अंक नै बनाएको लिभरपुल भने गोल अन्तरको आधारमा अघि रहँदै लिगको शिर्ष स्थानमा रहेको छ । ९ अंक नै जोडेको चेल्सी भने लिगको तेस्रो स्थानमा छ । ३ खेलबाट ३ अंक बनाएको म्यान्चेस्टर युनाइटेड भने लिगको १३ औँ स्थानमा छ । जारी लिगमा म्यान्युले बेहोरेको यो दोस्रो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया