सेयर बजारको ओरालो यात्रामा निरन्तरता, किन बढेन लगानीकर्ताको मनोबल ?

लोकपथ
56
Shares

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लामो समयदेखि ओरालो लागिरहेको सेयर बजार अझै लयमा फर्किन सकेको छैन ।

पुँजीबजार सुधार र विस्तारका लागि भन्दै लगानीकर्ताहरुले आन्दोलन गरे । १० दिन आमरण अनसन पनि बसे । तर धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्छौँ भनेपछि लगानीकर्ताहरु सहमत भए र आन्दोलन पनि फिर्ता लिए । तर पनि सेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन । उनीहरु गुड न्युजको पर्खाइमा छन् ।

आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । यता ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ३७२.६० बिन्दुमा झरेको छ ।

मंगलबार कारोबार रकम समेत बढ्न सकेको छैन । कारोबार अवधिभर २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ८२ लाख ४६ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । सोमबार २ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

आज बैंकिङ र जीवन बीमा समूह बाहेको ११ वटा सूचक राताम्य बनेको छ । एसियन लाइफ इन्स्योरेन्सले सर्वाधिक ७ करोड ३१ लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यस्तै, सिवाईसी लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?