काठमाडौं । केहि दिनदेखि परेको अविरल वर्षाका कारण मोरङका धेरै स्थानहरु जलमग्न भएको छ ।
नदी कटानको कारण भएको डुबानले एक जनाको ज्यान गएको र सयौँ घरहरु प्रभावित भएका छन् ।
बाढीका कारण जिल्लाभर करिब १५ सय घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) काशिराज दाहालले लोकपथलाई जानकारी दिए । उनका अनुसार विस्थापित परिवारलाई विद्यालय भवन, सरकारी कार्यालय लगायतका सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
‘अविरल वर्षाको कारण बाढीमा हराइरहेका एक जनाको शव फेला परेको छ । साथै हालसम्म १५ सय घरपरिवार विस्थापित भएको जानकारी प्राप्त भएको छ ।’ उनले भने, ‘विस्थापित परिवारहरुलाई विद्यालय, सरकारी कार्यालय लगायत अन्य सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।’
उनका अनुसार विराटनगर महानगरपालिकाका धेरै स्थानहरु डुबानमा परेका छन् । साथै कटहरी, ग्रामथान, बुढिगंगा, रंगेली, सुनबर्सी नगरपालिकाका अधिकांश स्थान डुबानमा परेका छन् । भने जिल्लाको बेलबारी नगरपालिकाको केही स्थान समेत डुबानमा परेको उनको भनाइ रहेको छ ।
प्रत्येक वर्ष डुबानमा पर्दै आएको क्षेत्रमा समयमै ध्यान दिन नसक्दा समस्या परेको उनको भनाइ रहेको छ । अहिले पनि धेरै स्थानमा नदी कटानको कारण बाढी पसेको र त्यसको कारण डुबान भएको उनको भनाइ रहेको छ ।
‘धेरै जसो डुबानको समस्या नदी कटानको कारण भएको देखिन्छ । हरेक वर्ष डुबान पर्ने गरे पनि नदी कटान नरोकिँदा त्यसले बस्तीमा असर गर्ने गरेको छ ।’ उनले भने ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उद्धार तथा राहतको काम भइरहेको उनले बताए । त्यसैगरी तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णयहरु गर्ने समेत उनले बताए ।
‘हामी तत्काल आकस्मिक बैठक बसेर त्यसबारे थप निर्णयहरु गर्दैछौँ ।’ सिडियो दाहालले लोकपथसँग भने ।
नेपालमा मनसुन सक्रिय हुँदा देशका विभिन्न क्षेत्रहरुमा बाढी पहिरो र डुबानका समस्याहरु देखा परिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया