काठमाडाैं : राजधानीको सुरक्षा व्यवस्थापनमा समस्या हुनसक्ने भन्दै सरकारले राजधानीस्थित पुरानो बसपार्क बन्द गराएको छ ।
राजधानीबाट पूर्वतर्फ छुट्ने सिन्डिकेटधारी यातायात समितिहरूका लागि खुलामञ्च मासेर बनार्इएको पुरानो बसपार्क मंगलबार बिहानैदेखि बन्द गरिएको हो । बसपार्कबाट यात्रु र सवारीसाधनलार्इ बाहिर पठार्इएको छ ।
भदाै १४ र १५ गते (भोली र पर्सी) काठमाडाैंमा 'बहुपक्षीय प्राविधिक तथा अार्थिक सहायताका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक)' को चाैथो शिखर सम्मेलन हुँदैछ । सोही सम्मेलनको सुरक्षा व्यवस्थापन गर्न भन्दै अत्याधिक भिडभाड हुने पुरानो बसपार्क बन्द गरिएको काठमाडाैं महानगरपालिकाका एकजना कर्मचारीले लोकपथलार्इ जानकारी दिए ।
महानगरपालिकाले बसपार्क मर्मत गर्नुपर्ने र बिमस्टेक सम्मेलनमा सुरक्षा प्रबन्ध गर्नुपर्ने भएकाले ४ दिनका लागि बसपार्क बन्द गरिएको जनाएको छ ।
बाहिरी जिल्लाबाट पुरानो बसपार्क अाउने सवारीसाधनलार्इ कोटेश्वरबाट कलंकी हुँदै नयाँ बसपार्कमा पार्किङ व्यवस्था मिलार्इएको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ । उपत्यकाभित्रका लागि छुट्ने सवारीसाधनलार्इ भने रत्नपार्क घुमेर यात्रा गर्न ट्राफिक प्रहरीले निर्देशन दिएको छ ।
हाल पुरानो बसपार्कबाट राजधानीभित्र चल्ने सार्वजनिक सवारीसाधनका साथै उपत्यका वरिपरिका जिल्लामा सिन्डिकेट लादिरहेका हेलम्बु यातायात समिति, हिमाल तराई यातायात सेवा समिति, अरनिको यातायात सेवा समितिका गाडीहरु छुट्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया