‘वान साइडेड’ नै किन नहोस्, एकपटक प्रेममा त पर्नुपर्छ : सुबिन भट्टराई

काठमाडौं । युवापुस्तामाझ लोकप्रिय छन् सुबिन भट्टराई । सङ्ख्याका हिसाबले उनले धेरै पुस्तक लेखेका छैनन् । तर, थोरै पुस्तकले पनि भट्टराईलाई व्यस्त लेखक बनाइदिएको छ पछिल्लो समय ।

उनको उपन्यास ‘समर लभ’ मा आधारित फिल्म निर्माणको क्रममा छ । फिल्मको केही भागको छायांकन भइसकेको छ । विदेशका केही दृश्यको छायांकन अझै बाँकी छ ।

‘समर लभ’ पछि सार्वजनिक भएका उनका उपन्यास ‘साया’ र ‘मनसुन’ पनि युवापुस्तामाझ उत्तिकै लोकप्रिय छन् । ‘कथाकी पात्र’ ले पनि चर्चा कमाएको थियो ।

केही पाठकले भने सुबिनलाई आरोप लगाइरहेका हुन्छन्, ‘यिनले उस्तै उपन्यास दोहोर्‍याए, नयाँ उपन्यासमा फरक स्वाद दिनै सकेनन् ।’

यही भ्रमलाई चिर्ने गरी नयाँ उपन्यास सार्वजनिक गर्ने तरखरमा छन् सुबिन । उपन्यास, प्रिय सुफी ।

सुबिन भन्छन्, ‘पाठकको शतप्रतिशत चित्त बुझाउन मुस्किल छ, किनकि हरेक पाठकको स्वाद फरक हुन्छ, सबैलाई एउटै पुस्तक मन पर्दैन नि ।’

एउटै खालका उपन्यास सार्वजनिक गरिरहे भनेर आरोप खेपिरहेका बेला फेरि उस्तै लाग्ने शीर्षकको उपन्यास लिएर बजारमा भिड्दैछन् उनी । उपन्यासको नामले नै बुझाउँछ, यो उपन्यास पनि युवापुस्ताको प्रेम हो । जुन, पहिलेका उपन्यासको मुख्य विषय थियो ।

‘हैन, यो उपन्यास चाहिँ फरक छ है ! प्रेमकथा त हो तर यसमा परिवार, साथीभाइ सबैको प्रेम उठाएको छु ।’, सुबिन भन्छन् ।

‘पहिलेका कृतिलाई टीन एज र कलेजका पाठकले धेरै रुचाउनुभयो, गम्भीर पाठकले गाली पनि गर्नुभयो’, उनी थप्छन्, ‘यो उपन्यास कलेज पढ्दै गरेका पाठक र गम्भीर पाठकले पनि रुचाउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

साथै पुस्तकका माध्यमबाट सन्देशसमेत दिन खोजेको सुबिन बताउँछन् । उनका अनुसार यो उपन्यास पनि प्रेमकै कथा हो ।

‘मैले आफैले लेखेका पुस्तकले पाठकलाई मोनोटोनस बनाएँ कि भनेर थोरै परिवर्तन ल्याएको हुँ, आफैले आफैलाई परिवर्तन गरेको हुँ’, उस्तै पुस्तक आए भन्ने आरोप लागेर चेन्ज ल्याउनुभएको हो? भन्ने प्रश्नमा सुबिन भन्छन्, ‘यसअघिका पुस्तकमा गाली आएकै हुन्, जहाँसम्म लाग्छ, अब उपन्यासले ती आरोपको खण्डन गर्नेछ, मैले यही सपना देखेर लेखेको उपन्यास हो यो ।’

कथा उही हो, प्रेमकथा । तर, यसपटक उनले थपेको कुरा हो – पारिवारिक र साथीभाइको प्रेम अनि केही सन्देश ।

प्रेमका हजारौँ शब्द लेखिसकेका सुबिनले अहिले पनि प्रेमको परिभाषा बनाउन चाहिँ सकेका छैनन् । पुस्तक मात्र होइन, सामाजिक सञ्जालमा स्टाटस पनि प्रेमकै बारेमा लेखेका हुन्छन् सुबिन ।

उनका पुस्तकको मुख्य कथा पनि त्यही प्रेम हुन्छ । 

‘सबैभन्दा गाह्रो प्रश्न नै यही हो कि, प्रेम के हो? यसको परिभाषा सजिलो छैन’, सुबिन प्रेमबारे खुलाउँछन्, ‘प्रेम के हो भन्ने कुरा परिस्थिति अनुसार फरक पर्ने रहेछ, अहिले मलाई प्रेम झरनाजस्तै निस्वार्थ झरेको पानी हो झैँ लाग्छ ।’

‘बरु एकतर्फी नै किन नहोस्, एकपटक प्रेममा चाहिँ पर्नुपर्छ ।’, सुबिन मुस्कुराउँदै सुनाउँछन् ।

किनकि, प्रेमको जुन भाव हुन्छ, जुन स्वाद हुन्छ, त्यो व्यक्त गर्न सकिने होइन । कुनै बेला ‘अपोजिट सेक्स’ लाई पनि प्रेम सोच्ने सुबिन अहिले निस्वार्थ झरिरहने झरनालाई प्रेमसँग तुलना गर्छन् ।

सुबिनको अर्को पनि चाहना छ – त्यो हो, फिल्म लेखन ।

‘मलाई सानैदेखि एउटा न एउटा किताब त नलेखी मर्दिन भन्ने थियो, किताब लेख्ने इच्छा पूरा भयो’, सुबिन हौसिन्छन्, ‘पुस्तकसँगै फिल्म लेखनमा पनि उत्तिकै रचि छ, अहिले पनि केही ड्राफ्ट लेखेर राखेको छु, अरुले बनाएनन् भने पनि म आफै फिल्म बनाउँछु ।’

पाठक सुबिनको नयाँ उपन्यासको पर्खाइमा छन् । तर, पाठकलाई डर छ कि, यो उपन्यास पनि सुबिनको पहिलेकै उपन्यासको पुनरावृत्ति हुने हो कि । तर, सुबिन भने यो कृति पहिलेका कृतिभन्दा फरक भएको विश्वास दिलाउँछन् । ‘भनिहालेँ नि, यो पुस्तक पहिलेका पुस्तकभन्दा फरक छ, सधै उस्तै विषय दिएँ भने त मलाई पनि कामले इन्जोय दिँदैन नि ।’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?