मेक्सिको । मेक्सिकोको कानकुन सहरमा बुधबार एक जना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।
सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को ८ महिनाभित्रै ८ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।
टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको जनाएको छ । क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ ।
उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।
कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।
दुई महिनाको अवधिभित्रै क्वीन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाई महिनामा प्लाया न्यूजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो ।
यसै वर्ष जुन २९ मा क्वीन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्यूज अखबरमा संवाददाताको रुपमा कार्यरत थिए ।
गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाकस्वतन्त्रता पक्षधर संस्थाहरुका अनुसार, सन् २ हजार यता मात्र मेक्सिकोमा १ सय भन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया