१ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको घोषणा, सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको भनाइ ।
२ स्वतन्त्र उम्मेदवार बन्नका लागि १३ बुँदे नयाँ मापदण्ड तय, अब उम्मेदवार भएकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, उम्मेदवार ६८ वर्ष नकटेको र कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने ।
३ बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने ऊर्जामन्त्री पम्फा भुसालको भनाइ, नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौँ रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख ।
४ माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा विभाजन, उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष भेला आयोजक समिति गठन ।
५ पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधान कार्यान्वयनका लागि भएको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको प्रतिक्रिया ।
६ मेलम्ची नदी आसपासको क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह ।
७ लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण, १२० स्थानको पानीको नमूना परीक्षण गर्दा ९१ वटामा भेटियो इकोली ब्याक्टेरिया, एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी नागरिकमा पुर्याउन भने सरकार असफल ।
८ पाँचथरमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, खोटाङमा पहिरोले एक घर बगायो, ११ घर उच्च जोखिममा ।
९ मोरङमा मट्टितेल छर्की आगो लगाएर श्रीमानद्वारा श्रीमतीको हत्या, हत्या आरोपमा श्रीमान पक्राउ, घरायसी विवादमा कारण श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान ।
१० यस साता सेयर बजारमा १६६ अंकको वृद्धि, नेप्से २०२८ बिन्दुमा उक्लियो, नेप्से परिसुचकसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ताहरु उत्साहित ।
११ पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो, आधा बढी संक्रमित काठमाडौंमा ।
१२ इरानको दक्षिणी क्षेत्रमा ६ म्याग्निच्युटको भूकम्प, पाँच जनाको मृत्यु, १९ जना घाइते, चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस ।
१३ युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, घटनामा परेर कम्तीमा २१ जनाको मृत्यु, घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार हुँदै ।
१४ आज दिनभर सन्दीप लामिछानेको एक ट्विट चर्चामा, ‘शून्य समर्थन ? चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ, भन्ने उक्त ट्विट सामाजिक सञ्जालदेखि समाचारका मुख्य शिर्षकसम्म, क्यानाडामा ओन्टारियोसँगको अभ्यास खेलमा कसैले समर्थन नगरेको गुनासो ।
१५ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडरेसनमाथि लगाएको प्रतिबन्ध हटायो, फेडरेसनमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै २०२१ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया