मुगु । खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएको छ ।
खत्याड गाँउँपालिका-८ स्थित सर्वोदय माध्यमिक विद्यलयमा कक्षा १० अध्ययनरत मनिषा गिरीका अनुसार पाठ्यपुस्तक नहुँदा पठनपाठन नियमित भएको छैन । यद्यपि, साथीहरूसँग पुराना पुस्तक मागेर पढ्ने गरेको उनले बताइन । खत्याड गाउँपालिकाको माथचौरमा पुस्तक आए पनि त्यहाँ पुग्न एक दिनभर पैदल हिडेर जानुपर्ने बाध्यता छ ।
बाजुराको धुलाचौरबाट पुस्तक मगाएर पढ्ने गरेको कक्षा-८ मा अध्ययनरत शिशिर सञ्जयालको भनाइ छ । सर्वोदय माध्यमिक विद्यालय सुकाढिकाका प्रधानाध्यापक लोकेन्द्रबहादुर कार्कीका अनुसार समयमै पाठ्यपुस्तक नपुग्दा अध्यापन गराउन समस्या भएको छ । यहाँ जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरू भएको हो ।
गाउँपालिका र पाठ्यपुस्तक ढुवानी गर्न ठेकेदारको लापरबाहीका कारण खत्याड गाउँपालिकाले पुस्तक खरिद नगरेपछि ४० विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबाट बञ्चित भएका हुन्र ।
विद्यालयबाट तथ्यांकहरू ढिलो आएको र सोही कारण पुस्तक खरिद ढिलाई भएको खत्याड गाउँपालिका प्राविधिक सहायक लोकेन्द बुढाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया