एशिया छनोट खेल: तेस्रो खेलमा नेपालले मलेशियासँग भिड्ने

काठमाडौं । एशिया कप क्रिकेटको छनोट खेल अन्तर्गत नेपालले तेस्रो खेलमा शनिबार आयोजक मलेशियासँग प्रतिस्पर्धा गर्दैछ । 

जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अंक विहीन छ । यसअघि पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले तथा दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स ‘युएइ’सँग ७८ रनले पराजित भएको थियो।

दुई खेल खेलको मलेशियाले २ अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई ३ विकेटले हराएको थियो भने ओमनसँग २ विकेटको हार बेहोरेको थियो । 

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई ४ अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रन रेटका आधारमा दोस्रो स्थानमा छ । समान एक-एक खेलमा जीत हात पारेको  हङ्कङ र मलेशियाले  दुई-दुई अंक जोडेको छ ।

हङकङ तेस्रो र मलेशिया चौंथो स्थानमा छ । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ । 

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई ‘आइसिसी’ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन ‘टु’मा छ । ओमन र सिङ्गापुर डिभिजन  ‘थ्री’मा तथा मलेसिया डिभिजन ‘फो’मा छ । 

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?