१७ तस्वीरमा हेर्नुहोस् मदहोश बनाउने मनाङको सुन्दरता

चामे (मनाङ) ः हिमवत चुचुरोहरूमा अब दिन बिराएर बदली हुन थालेको छ । 

गमलामा रोपिएका फूलहरु रङ्गिचङ्गी भएर फुल्न थालेका छन् । 

बाहिरी वातावरण उन्मत्त भएको छ, मदहोश पार्नेगरी । 

सानो गमलामा फुलेका फूलहरु जङ्गली फूललाई समेत च्यालेञ्ज दिएर फक्रेका छन् । निस्फिक्रीसाथ ! 

हो, जब जब शरद ऋतुले आफ्नो कार्यकाल हस्तान्तरण गर्ने तरखर गर्छिन्, तब मानिसहरु काम थाती राखेर ब्याग भिर्छन् । 

टाढाटाढा जान चाहन्छन् । यो मौसम नै यस्तै हो । 

मनाङ

मनाङ भन्नेबित्तिकै हरेक नेपालीको मनमा स्वदेशी पर्यटकको मनमा एउटा तरङ्ग पैदा हुन्छ काम थाती राखेर झोला बोकुँ र मनाङको यात्रा तय गरुँ । 

हिमाली पर्यटकीय जिल्ला मनाङको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । हिमालपारिको जिल्ला नामले प्रख्यात मनाङ नेपालकै सुन्दर मध्येको एक जिल्ला हो । 

२ हजार २ सय ४६ वर्ग किलोमिटर कुल क्षेत्रफल ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।

जिल्लाको भौगोलिक सुन्दरताको बयान गर्दा अति नै लोभलाग्दा दृश्यहरु, अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाजस्ता विषेशताहरु भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल छन् । 

मनाङ जिल्ला स्वदेशी तथा विदेशी पर्यटक र पदयात्रीहरुको गन्तव्य मार्ग हो । विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरुको बेजोड संगम भएको जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्न थालेको अन्नपूर्ण सरक्यूइट ट्रेकका ट्रकिङ गाइड जीत बहादुर गुरुङले बताए । 

‘यो सिजन ट्रेकिङको लागि अफ सिजन हो । यसलाई अफ सिजन अर्थात् समर ट्रेक पनि भनिन्छ । विशेष गरी बाह्य पर्यटकहरु मनाङको तिलिचो ताल र त्यस वरपर रहेको कुण्डहरु हेर्न आउने गर्छ । अहिले मनाङमा फापरको फुलहरु फुल्ने हुँदा पर्यटकहरु त्यो हेर्न पनि आउने गर्छ ।’ उनले लोकपथसँग भने । 

साथै, उनले मनाङ जाने पर्यटकको संख्या सेप्टेम्बरदेखि अझ धेरै बढ्ने पनि जानकारी दिए । ‘हिमालपारिको जिल्ला मनाङ घुम्ने हो भने सेप्टेम्बरदेखिका मौसम उत्तम मानिन्छ । गर्मीको यो मौसममा शितलतासँगै मनोरम दृश्यहरु अवलोकन गदै चक्कर काट्ने स्वदेशी तथा विदेशी पर्यटकहरु संख्या धेरै हुने गर्छ ।’, उनले थपे । 

काठमाडौंदेखि लमजुङसम्म सवारीमा सजिल्लै पुग्न सकिन्छ । सदरमुकाम बेसीशहरबाट चामेसम्म सवारीमा वा पदैलयात्रा दुवैबाट जान सकिन्छ । बेसीसहरबाट चामेसम्म र चामे–माथिल्लो मनाङको खाङ्सारसम्म पनि सीधा यातायातको व्यवस्था छ । माथिल्लो मनाङ क्षेत्र निकै मनमोहक भएकोले माथिल्लो मनाङसम्म पैदलयात्रा समेत गर्न सकिन्छ ।

पर्यटकहरुले माथिल्लो मनाङमा रहेको गंगापूर्ण ताल समेत हेर्न जाने गरेको ट्रेकिङ गाइट गुरुङले बताए । 

‘चिसो मौसममा हिउँ जम्ने गरे पनि अन्य समयमा गंगापूर्ण ताल सफा र कञ्चन देखिन्छ । सेताम्मे हिमालमुनि रहेको यो तालले मनमा फरक तरंग ल्याउने गर्दछ । अन्नपुर्ण, २, ३ र ४ गंगापुर्ण हिमाल, तिलिचो हिमालजस्ता मनोरम हिमश्रृखलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।’ उनले भने ।

अन्नपूर्ण चक्रीय पदमार्गको फेरो लगाउन जाने स्वदेशी र विदेशी पर्यटक नतमस्तक नहुने कुरै छैन । मनाङको भौगोलिक परिवेश र यहाँ रहेका मनोरम दृश्यहरु हेर्न एक पटक सबै जाने कि ?

हेर्नुहोस् तस्वीरः 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?