काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको लघुवित्त संस्था सुपरिवेक्षण विभाग, निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा सापट गत आर्थिक वर्षको तुलनामा ३९ दशमलव १४ प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ५५ करोड हुन पुगेको हो ।
अघिल्लो वर्ष कुल कर्जा सापट ११ दशमलव ७२ प्रतिशतले वृद्धि भई दुई खर्ब ६२ अर्ब ७२ करोड रहेको थियो । त्यसैगरी २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ८७ दशमलव ८३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७२ प्रतिशत रहेको छ ।
निष्क्रिय कर्जाको अनुपात २०७७ असार मसान्तमा दुई दशमलव तीन प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार हाल सबै किसिमका गरी ७० वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको कर्जा र निक्षेप तथा सापटी अनुपात २०७८ असार मसान्तमा एक सय आठ दशमलव २८ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा सो अनुपात एक सय पाँच दशमलव ८० प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा लिएको कुल निक्षेप तथा सापटी २०७७ असारमसान्तको तुलनामा ३५ दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन खर्ब ३७ अर्ब ६२ करोड पुगेको छ ।
त्यस्तै, कर्जा तथा सापट गत वर्षको तुलनामा ३९ दशमलव १४ प्रतिशतले वृद्धि भई २०७८ असारमसान्तमा तीन खर्ब ६५ अर्ब ५५ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिवेदनअनुसार २०७८ असारमसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३४ दशमलव ३२ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब ७८ करोड हुन आएको छ । २०७७ असार मसान्तमा कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ५४ प्रतिशतले वृद्धि भई तीन खर्ब दुई अर्ब ८४ करोड रहेको थियो ।
२०७८ असार मसान्तमा कुल सम्पत्तिमा जोखिम भारित सम्पत्तिको अनुपात ९६ दशमलव ५८ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९३ दशमलव ८० प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३८ दशमलव ३१ प्रतिशतले वृद्धि भई तीन खर्ब ९२ अर्ब ८८ करोड हुन आएको छ ।
२०७७ असार मसान्तमा जोखिम भारित सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब ८४ अर्ब पाँँच करोड रहेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया