काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले मोरङको विराटनगरमा स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन् ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन् । उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताईन् ।
नेतृ कोइरालाले संग्रहालय बनाउन सके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी समेत गरिन् । उनले भनिन्,‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्न सक्छ ।’
उनले कांग्रेस नेतृत्वकै सरकारमा संग्रहालयको काम छिटो अघि बढाउनु पर्नेमा जोड दिईन् । अहिले संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आफू आशावादी रहेको नेतृ कोइरालाले बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया