काठमाडौं । एनसेलले रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा.राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दीगो विकास लक्ष्यसंग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप गोगदान दिन पाउदा खुशी लागेको बताए ।
उनले समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान दिन पाएकोमा वन विभाग, महानगरपालिका, वडा र अन्य सरोकारवालाहरूप्रति धन्यवाद दिए । ‘यो परियोजना सार्वजनिक—नीजि साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौं भनी प्रष्टाएको छ ।’
वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा.राजेन्द्र केसीले भने, यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो । रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डःकेपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा नीजि र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेको बताए ।
एनसेलले वन तथा भू–संरक्षण विभागसंगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ । सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डःकेपिङसहित हरियाली निर्माणको काम सम्पन्न गरेको जनाइएको छ । साथै, परियोजनाले रिङरोड सडक खण्डमा सफा र हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडक खण्डमा वृक्षारोणमा गर्दै आएको जनाएको छ । हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसका लागि स्वास्थ वातावरण निर्माणमा योगदान पुर्याउने उद्धेश्य एनसेलले लिएको छ ।
एनसेलको सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने लक्ष्य छ । परियोजना अन्तर्गत ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १ हजार ४ सय वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं । अर्को चरणमा ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने समेत उनले बताए ।
एनसेलले परियोजनालाई औद्योगिक व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । एनसेलले आफ्नो सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.६५ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैं एनसेलको प्राथमिकतामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया