काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै तीन वटा लघुवित्त वित्तीय संस्थाहरुलाई कारबाही गरेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार अनिवार्य मौज्दात कायम नगर्ने तीनवटा संस्थाहरुलाई नपुग महिनाको आधारमा कारबाहीस्वरुप जरिवाना तिराएको हो ।
यसअन्तर्गत ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रुपन्देहीलाई २०७७ मंसिर महिनामा अनिवार्य मौज्दात कायम नगरेको आधारमा ५४ रुपैयाँ ८० पैसा जरिवाना तिराइएको छ ।
यसैगरी, सारथी लघुवित्त वित्तीय संस्था काभ्रेपलाञ्चोकलाई पनि २०७७ फागुन महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा तीन सय ६२ रुपैयाँ ३३ पैसा नगद जरिवाना तिराइएको छ ।
राष्ट्र बैंकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था काभ्रेपलाञ्चोकलाई पनि २०७८ जेठ महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा दुई हजार आठ सय ८८ रुपैयाँ २५ पैसा जरिवाना तिराइएको छ ।
समाज लघुवित्त वित्तीय संस्था सर्लाहीलाई भने २०७६ पुस देखि २०७७ असार मसान्तसम्म पुंजीकोष कायम नगरेको आधारमा सिघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकको भनाइ छ ।
धादिङको गल्छीमा रहेको विन लघुवित्त वित्तीय संस्था र कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई भने न्युनतम पुँजीकोष कायम गर्न नसकी समयसिमा थप गरिएको राष्ट्र बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया