काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन्। उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए ।
अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गरे । अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा,राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताए ।
उनले सरकारलाई अटो मोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सुझाव दिए । अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गरे । उनले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताए।
अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताए । उनले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया