काठमाडौं । यहि मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुने दशौं ‘साफ च्याम्पियनसिप’मा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।
सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि ‘साफ’ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो ‘साफ’को १२ औँ संस्करण हुन जान्छ ।
बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक-एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।
भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, माल्दिभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेको थियो ।
दुई पटक घरमै ‘साफ च्याम्पियनसिप’ आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नजिता निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौँमा भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो ।
यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
यो संस्करणमा समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, भुटान र आयोजक टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । तुलनात्मकरुपमा सजिलो समूहमा परेको नेपालका लागि इतिहास रच्ने अवसर छ ।
नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताएका छन् । महर्जनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन् ।
‘प्रतियोगितामा भारतले यु–२३ टोलीे सहभागी गराउने र अफगानिस्तान साफबाट बाहिरिएको स्थितिका कारण नेपाल उपाधिको मुख्य दाबेदार बन्न पुगेको छ’– उनले भने ।
करीब साढे दुई वर्षदेखि नेपाली टोलीलाई प्रशिक्षण दिने जिम्मेवारी सम्हाल्दै आएका जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रवेशाज्ञाका कारण जापान फर्किएका छन् । नेपाली टोली साफ च्याम्पियनसिपलाई लक्ष्य गरी तीन महिनादेखि बन्द प्रशिक्षणमा छ । यसबीचमा नेपालीे युवा टोलीले एशियाली खेलकूदमा सहभागिता जनाइसकेको छ भने थाइल्याण्डको युवा टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ मा यो वर्ष नयाँ नेतृत्व आएको छ । दुई दशकभन्दा बढी एन्फा हाँकेको पूर्व कप्तान गणेश थापा समूहलाई कर्मा छिरिङ शेर्पा समूहले विस्थापन गरेको छ र यसले आफूलाई परिवर्तनको पक्षधर भएको दावा गर्छ ।
फुटबलको विकासमा कुनै कसर बाँकी नराख्ने बताउने वर्तमान नेतृत्वले अहिले फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल प्रतियोगितासमेत शुरु गरिरहेको छ ।
‘साफ च्याम्पियनसिप’को तयारीमा रहँदै गर्दा दुई साताअघि नेपालको यु–२३ टोलीले इण्डोनेसियामा एशियाली खेलकूदमा सहभागिता जनायो । समूह ‘डी’ मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेलेको थियो तर, तीनै खेलमा पराजय देख्नुपर्यो ।
सहायक प्रशिक्षकको भूमिकामा इण्डोनेशिया गएका प्रशिक्षक महर्जनले आफ्नै कमजोरीका कारण एशियाली खेलकूदमा हार बेहोरेको बताए । त्यसै कमजोरीलाई सच्याएर साफमा राम्रो प्रदर्शन गर्ने उनको अठोट छ ।
‘साफ च्याम्पियनसिप’को सात पटकको विजेता तथा साविक विजेता भारतले यसपटक यु–२३ टोलीलाई खेल्न पठाउने निर्णय गरेको छ । भारतीय प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले यु–२३ टोलीको घोषणा गरेको छ र यो टोलीले अष्ट्रेलियामा विशेष तयारी गरिरहेको छ ।
भारतको यो निर्णय नेपालका लागि सुखद हुनसक्छ । दक्षिण एशियाली फुटबलमा नेपालले हराउन बाँकी कुनै टोली छैन । तर, एकै प्रतियोगितामा सबैलाई हराउन सकेको छैन ।
विगतमा पटक-पटक नेपालका अगाडि बाधकको रुपमा भारत नै देखापर्यो । माल्दिम्सको टोलीमा पनि उसका भेट्रान स्टाइकर अली अस्फाक छैन र उनको अनुपस्थितिमा टोली मनोवैज्ञानिक रुपमा कमजोर हुने ठानिएको छ । श्रीलंका र पाकिस्तान फिफा वरियतामै नेपालभन्दा तल छन् ।
पछिल्लो फिफा वरियतामा दक्षिण एशियाली मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छन् । भारत ९६ औँ स्थानमा रहँदा १ सय ५० औँ स्थानमा माल्दिभ्स, १ सय ६१ औँ स्थानमा नेपाल, १ सय ८३ औँ स्थानमा भुटान, १ सय ९४ औँ स्थानमा बंगलादेश, २ सय औँ स्थानमा श्रीलंका र २ सय १ औँ स्थानमा पाकिस्तान छन् ।
दक्षिण एशियाली खेलकूदमा नेपालको चीर प्रतिद्वन्द्वीका रुपमा रहेको भारतले आफ्नो ‘सिनियर’ टोली नखेलाउने भएपछि नेपालले त्यसको फाइदा उठाउन सक्छ । तीन वर्षअघि साग प्रतियोगितामा नेपालको युवा टोलीले भारतको यु–२३ टोलीलाई हराउँदै स्वर्ण पदक जितेको थियो ।
त्यसैगरी, सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिप र सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानले नेपाललाई पराजित गरेको थियो तर, यस पटक प्रतियोगितामा अफगानिस्तान समावेश छैन ।
सन् २०१३ को च्याम्पियन अफगानिस्तान सेन्ट्रल एशिया फुटबल फेडेरेशनको संस्थापक सदस्यको रुपमा उतैबाट फुटबल खेल्ने निर्णय गरी साफबाट बाहिरिसकेको छ ।
आसन्न साफ च्याम्पियनसिप ढाकाको बंगबन्धु रंगशालामा हुँदैछ । यो त्यही मैदान हो जहाँ नेपालले दुई वर्षअघि बंगबन्धु गोल्डकप फुटबलको उपाधि उचालेको थियो । त्यो पनि बालगोपालकै प्रशिक्षणमा । त्यो नेपालले सन् १९९३ पछि जितेको सबैभन्दा ठूलो उपाधि थियो । त्यसले लामो समयदेखिको पदकविहीनता स्थितिलाई तोेडेको थियो ।
त्यस्तै, सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा नेपाल स्वर्णविहीन हुँदै घर फर्कनुपर्ने अवस्था आउन लागेको थियो । फुटबलको स्पर्धा मात्र बाँकी थियो । नेपालले बंगलादेशको राष्ट्रिय रंगशालामा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै स्वर्ण जित्न सफल भयो ।
त्यतिबेला राष्ट्रिय टोलीका सदस्य बालगोपाल अहिले मुख्य प्रशिक्षकको भूमिकामा छन् ।
भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्तानसँग, दोस्रो खेल २० गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्द्विभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् । भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया