काठमाडौं । क + ल लाई आकार – कला ।
दुई अक्षरले बनेको यो शब्दको संरचना सरल छ ।
तर, यसको आयाम भने आफैमा व्यापक छ । कलाले धेरै क्षेत्रलाई समेट्छ, नृत्य पनि त्यहीमध्येको एक पाटो हो ।
नृत्य मनोरञ्जन मात्र नभएर भावना प्रस्फुटन गर्ने माध्यम पनि हो ।
कतिले त यसैमा आफ्नो भविष्य देख्छन्, रंगीन सपना सजाउँछन् । जसरी अस्मी भुजेलले नृत्यलाई आफ्नो भविष्य बनाएकी छिन् ।
‘अस्मी’ चिरपरिचित नाम होइन । उनी कुनै सेलिब्रेटी पनि होइनन् तर हुन चाहन्छिन्, आफ्नो नृत्य मार्फत् । भन्छिन्, ‘डान्सकै माध्यमबाट नाम कमाउने सपना छ, हेरौं कतिको पूरा हुन्छ ।’
अठार वर्षे अस्मी आफू नृत्य सिक्नका साथसाथै अरुलाई पनि सिकाउँछिन् । आफूले सिकेको २–३ महिनामा नै उनले अरुलाई सिकाउन थालिसकेकी थिइन् । जे होस्, आफ्नो लागि चाहिने पैसाका लागि बुबाआमाको भर पर्नुपरेको छैन उनले ।
धादिङकी अस्मी मध्यमवर्गीय परिवारमा जन्मिइन् । सानैदेखि नृत्यकी सौखिन । गीत त बज्नै नहुने हात, खुट्टा, कम्मरहरु आँफै सुरताल पक्रिन थाल्थे ।
बाबाले पढ् भन्ने तर उनलाई भने नाच्न मनपर्ने । उनी नाच्छु भन्ने तर बाबालाई नाचेको त्यति मन नपर्ने ।
फेरि, धादिङमा नृत्य प्रशिक्षण लिने ठाउँ पनि त थिएन । त्यसैले उनलाई भर्खरै टुसा पलाउँदै गरेको सपना फूल्न नपाउँदै मर्ने हो कि भन्ने डर थियो ।
औपचारिक रुपमा प्रशिक्षण लिन नपाएतापनि स्कूलका प्रतियोगीतादेखि तिहार कार्यक्रम, गाउँघरमा हुने महोत्सव आदिमा अस्मीलाई नै रुचाइने । स्टेजमा उनैलाई हेर्न चाहने सबैजना ।
अस्मीका पिता भने छोरीको डान्सर बन्ने सपनादेखि त्यति सन्तुष्ट थिएनन् ।
अरु बुवा जस्तै उनलाई पनि छोरीले पढेरै कुनै ‘सम्मानित’ क्षेत्रमा लागोस् भन्ने इच्छा थियो । नृत्यलाई पनि व्यवसाय बनाउन सकिन्छ, कला सम्मानयोग्य क्षेत्र हो भन्ने अवधारणा कमैको मात्र हुने भएर पनि होला ।
अस्मीलाई आमाको भने ठूलो भर थियो । बुबाको आँखा छलेर धेरै पटक नृत्य कार्यक्रममा पठाउने जो गर्थिन् ।
यद्यपि उनका पिता पनि क्रमश छोरीको रुचिप्रति सकारात्मक बन्दै गए । धादिङ महोत्सवमा आफूले दिएको बेजोड प्रस्तुति र बटुलेको असङ्ख्य तारिफ नै यसको मुख्य कारण हो भन्ने अस्मीको बुझाइ छ ।
‘धादिङ महोत्सवमा बाबाको साथीहरुले मेरो डान्स हेरेर खुब तारिफ गर्नुभयो, त्यहीँदेखि बाबाको पनि फुल सर्पोट पाएँ ।’, उनी दङ्ग देखिइन् ।
अहिले उनलाई बुबाआमा दुवैजनाले खुलेर सर्पोट गरिरहेका छन् । एसएलसी पछि काठमाडौं आएर नृत्य सिक्ने इच्छालाई सहजै स्वीकारेर उनलाई यहाँ पठाउनुले पनि यही सङ्केत गर्छ ।
***
जे होस् अस्मीको सपनाको टुसाले मलजल पाइरहेको छ । छिट्टै फक्रिन्छ भन्ने कुरामा ढुक्क छिन् उनी ।
भलै अस्मी हिपहप डान्सको विशेष प्रशिक्षण लिँदैछिन् तर, उनलाई ‘कल्चरल डान्स’ अत्यन्तै मनपर्छ । उनले कारण खुलाइन्, 'पहिलेदेखि नेपालमा प्रायः कार्यक्रमहरुमा ‘कल्चरल डान्स’ नै रुचाइने भएर पनि होला ।’
तर उनलाई अभिनयमा भने खासै रुचि छैन ।
‘फिल्मभन्दा पनि रियालिटी शोहरूमा भाग लिने इच्छा थियो, पूरा भयो ।’
अस्मी अहिले ‘मेची महाकाली गट ट्यालेन्ट’नामक रियालिटी सो मा सहभागी छिन् । रियालिटी सो ले छिट्टै लोकप्रियता दिन्छ भनेर पनि यस क्षेत्रमा उनको विशेष रुचि बढेको हो । ‘नयाँ मान्छेहरु पनि चिनिन्छ, अनि अवसरहरु पनि पाइन्छ नि त त्यही भएर ।’, अस्मीले लोकपथसँग भनिन् ।
सो रियालिटी शो को टप १३ मा छनोट भइसकेको उनको डान्स टिम अब भने टप १० को लागि प्रतिस्पर्धा गर्दैछ ।
त्यसैले डान्सलाई पहिले भन्दा झनै धेरै समय दिनुपरेको छ । तर, उनलाई थकाइ महसुस हुँदैन । दिक्क लाग्दैन । बरु नाँच्न पाउँदा आराम गरेजस्तो अनुभव हुन्छ । अस्मी काठमाडौंमा साथीको घरमा बस्छिन् ।
बिहान ६ बजेदेखि शुरु हुन्छ उनको नियमित दिनचर्या ।
‘६ देखि ७ बजेसम्म आन्टीहरुलाई डान्स सिकाउँछु, त्यसपछि रियालिटी सो को लागि प्राक्टिस हुन्छ, दिउँसो म आफैं डान्स क्लास लिन्छु अनि फेरि साँझमा सानो नानीबाबुहरुलाई सिकाउँछु, घर त राति साढे ८ तिर मात्रै पुग्छु ।’ आफ्नो रुटिन सर्सर्ती सुनाइन् अस्मीले ।
थाक्नु हुन्न ?
‘उम्हम् । रमाइलो लाग्छ ।’
राति घर जाँदा डर लाग्दैन ?
‘बानी परिसक्यो अब ।’
****
उनको लागि डान्स कति प्रिय छ भन्ने कुरा उनको उत्तरबाटै प्रष्ट हुन्छ ।
अठार वर्षकै उमेरमा आत्मनिर्भर भइसकेकी अस्मी आफूलाई पढ्न, खर्च गर्न पुग्ने पैसा कमाउने बताउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया