नवलपरासीमा द्वन्द्वकालिन नयाँ तथ्यांक,१६ जना बेपत्ता, २१६ जना मृतक

नवलपरासी : साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । 

इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । 

दुवै जिल्लामा गरी १६ जना बेपत्ता भएकामा चार जना बालकको सङ्ख्या रहेको छ भने मृतक २१६ जनामा सात जना महिलाको सङ्ख्या रहेको पश्चिम नवलपरासीका इन्सेक प्रतिनिधि नारायण पराजुलीले जानकारी दिए । 

द्वन्द्व प्रभावित मृतक र बेपत्ता परिवारजन कूल २३२ परिवारमध्ये २२२ जनाको परिवारजनले मात्र राज्यबाट राहत रकम प्राप्त गरेका छन् ।

बाँकी १० जनाको परिवारजनले हालसम्म सो राहत रकमसमेत प्राप्त गर्न नसकेको इन्सेक प्रतिनिधि पराजुलीको भनाइ छ । राज्यले बेपत्ता परेका परिवारले १० लाख रूपैयाँभन्दा बढी अन्य सुविधा प्राप्त गर्न नसकेको अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?