रोजगारी सिर्जना गर्न सकेमात्रै देश समृद्धितर्फ अघि बढ्छ : श्रममन्त्री कुँवर

लोकपथ
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दीगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।

उनले देशमा रोजगारका ढोका बन्द भएपछि बाध्य भएर विदेश पलायन हुनु परेको बताए । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जना गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताए । उनले राज्यका नीति, ऐन, कानुनहरुलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सञ्चिति गर्न कठिन हुने बताए । उनले सरकारले ल्याउने कुनैपनि ऐन, कानुन जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गरे । उनले भने, ‘वैदेशिक रोजगारको आकर्षण छ । यो हाम्रो बाध्यता हो । कुनैपनि दाजुभाई विदेशमा जान चाहदैनन् । जतिसुकै तलब होस् आफ्नो स्वाभिमान देशमा नै राख्न चाहन्छन् । तर, चारैतिर ढोका बन्द भयोभने उसले भेन्टिलेट खोज्छ । भेन्टिलेटको रुपमा वैदेशिक रोजगारलाई लिएको हो । त्यसैले हामीले स्वरोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ ।’

राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै कसरी सहुलियत दिने स्वदेशमा उत्पादनमुखी कार्यहरु गर्न सकिन्छ भन्ने तर्फ सरकारको ध्यान दिएको बताए । हाम्रा पुर्खा त्यही धान फलाएर निर्यात गर्दथे उनले भने, ‘गहुँ, फलफूल निर्यात गर्थे । तर, आज हामी चामल पनि आयात गर्छौं । जब हामी आयातमा मात्र भरपर्ने हुन्छौ, त्यतिबेला हाम्रो विदेशी मुद्राको सिञ्चिति कसरी ब्यालेन्स होला? राजश्व कसरी व्यवस्थापन होला? त्यसैले हामीले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्नुपर्छ । आकर्षण पैदा त्यत्तिकै हुदैन ? केही दिने बानीपनि बसाल्नुपर्छ । जनता मार्ने गरेर ऐनहरु आउनु हुँदैन ।’

मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताए । उनले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताए । उनले भने, ‘हाम्रो समाजमा दुईवटा क्षेत्र असाध्यै अपहेलित छ । पत्रकार पत्रकार भन्छौँ, सामान्य विषयमा पनि पत्रकारको विषयवस्तुलाई अर्कोतिर घुमाउँछौ । केही कुरा गर्दापनि पत्रकार आउला कि? हामी किन गल्ती गर्छौं । गल्ती नगर्ने हो भने त पत्रकारसग डराउनु आवश्यक छैन नि ।

हाम्रो पत्रकारिता जगतलाई पनि सामाजिक सुरक्षा कोषसँग जोड्न पाएको भए झनै सुनमा सुगन्ध हुन्थ्यो, पत्रकारका आफ्ना पीडा छन् । गाउँमा कहाँ कहाँसम्म हिडेर जानुपर्छ । समाचार त संकलन गर्नुपर्छ नै ।’ मन्त्री कुवँरले वैदेशिक श्रमलाई कसरी सम्मानित बनाउने भन्ने कुरामा विशेष जोड दिने र नेपाल र नेपाली श्रमिक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भएपनि बीचका मानिसले श्रमलाई दुर्गन्धित बनाइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?