काठमाडौं । सलाईको एउटा विज्ञापन छ – कोर्यो कि बल्यो ।
नेपाली फिल्मको हालत पनि अहिले त्यही छ । हलमा रिलिज भयो कि, फ्लप भयो ।
तर, फ्लप भइरहे पनि वर्षमा केही फिल्म भने फाइदामा जान्छन् । धेरै डुब्छन् । केहीले जेनतेन लगानी उठाउँछन् ।
नाफा कमाउने फिल्मको खडेरी लागिरहेका बेला ‘नाइँ नभन्नू ल ५’ ले भने आफूलाई ‘सुरक्षित’ बनाएको छ । योसँगै चलचित्रको केन्द्रीय भूमिकामा रहेकी बालकलाकार सेड्रिना शर्माको पनि चर्चा छ । दर्शकले उनको अभिनयलाई तुलनात्मक रुपमा बढी रुचाएका छन् ।
निर्देशक विकासराज आचार्य भन्छन्, ‘मैले धेरै कलाकारसँग काम गरेँ, तर सेड्रिनासँग जुन खुबी छ, त्यो शायद कमैमा हुन्छ, यो क्षेत्रलाई निरन्तरता दिइन् भने उनी भोलिकी स्टार हुन् ।’
दर्शकले पनि सिनेमा हेरिसकेपछि उनको तारिफ गर्न छोड्दैनन् । भन्छन्, ‘हो, सेड्रिनाले मन छुने अभिनय गरिन् ।’
यद्यपि सिनेमाले जुन किसिमले व्यापार गर्नुपर्ने हो, त्यति व्यापार नगरेको निर्देशक विकास राज आचार्य बताउँछन् । ‘सिनेमा दोस्रो हप्तामा चलिरहेको छ, काठमाडौंका हलबाट फिल्म उत्रेको छैन, तर यति दर्शक पनि सोचेभन्दा कम हो’, आचार्य अगाडि थप्छन्, ‘फिल्मको व्यापार राम्रो हो, धेरै राम्रो हैन ।’
नेपालमा केही व्यापार गरिहाल्यो कि, सक्सेस पार्टी दिने र समाचारमा आउने चलन हुन्छ । सिनेमाको लगानी यदि एक करोड छ भने लगानी उठाउन फिल्मले तीन करोडको व्यापार गर्नुपर्ने हुन्छ । धेरै सिनेमाले लगानी पनि सुरक्षित गरिरहेका हुँदैनन् । केहीले भने ‘सक्सेस पार्टी’ दिन्छन् ।
‘फिल्म चल्छन् र सक्सेस पार्टी दिइन्छन् भने त्यो राम्रो हो, हामी पहिलो हप्तामै सुरक्षित भएका छौँ, तर तुलनात्मक रुपमा यो सोचेजस्तो व्यापार चाहिँ होइन ।’, निर्देशक आचार्य सुनाउँछन् ।
समाचार आएका थिए – विकासराज आचार्यले अर्को वर्ष नै यसको सिरिज बनाउँदैछन् ।
तर, आचार्य भने ‘नाइँ नभन्नू ल ६’ अर्को वर्ष नबनाउने बताउँछन् । ‘यो वर्ष मेरा अरु दुई फिल्म पाइपलाइनमा छन्, अर्को वर्ष नाइँ नभन्नू ल कै सिक्वेल बनाउन सम्भव छैन’, उनी भन्छन्, ‘अहिले पनि नामलाई लिएर धेरै प्रतिक्रिया दिनुभयो, अब राम्रो कथा भयो भने मात्र यसलाई निरन्तरता दिन्छु, फिल्म बनाउन आत्तिन्न ।’
उनी अहिले दुई फिल्मको तयारीमा छन् – बाहिरी ब्यानरमा बन्ने फिल्म हजार जुनीसम्म र आफ्नै ब्यानरमा बन्ने फिल्म निरञ्जना ।
‘नाइँ नभन्नू ल’ को नाममा बन्ने फिल्मका लागि उनी ‘मनमै बस्ने कथा’ को खोजीमा छन् । अन्यथा यो नामको फिल्म नबनाउने उनको सोच छ अहिलेलाई ।
कसरी भेटिइन् सेड्रिना?
फिल्मको स्किृप्ट तयार भइसकेपछि बालकलाकारको खोजीमा थियो टिम । बालकलाकार अनुभव रेग्मी पहिलेदेखि नै यो स्विकेलको ‘ब्रान्ड’ थिए । नयाँ कथामा ‘अञ्जना’ पात्रको मुख्य भूमिका थियो ।
यसका लागि एउटा बेजोड कलाकारको आवश्यकता थियो । निर्देशकले केही कलाकारलाई भेटेका थिए तर चित्तबुझ्दो भेट्याएका थिएनन् उनले । कुरा चल्दै जाँदा एकदिन वर्षा शिवाकोटीले सुझाइन् – ‘मैले चिनेकी एउटी बैनी छिन् ।’
निर्देशकले लोकपथलाई सुनाए, ‘सेड्रिनालाई पहिलो भेटमै ओके भनिएको थियो, तर हामीले उनका बुबालाई पनि सोध्नुपर्छ भनेर पछि बुबासँग कुरा ग–यौँ ।’
सेड्रिनाले यो फिल्मभन्दा पहिले एउटा म्युजिक भिडियो र विज्ञापनमा काम गरेकी थिइन् । निर्देशकका अनुसार उनले कामप्रति निकै लगनशीलता देखाइन् ।
हुन त शूटिङमा सबैसँग काम गर्न उनलाई उत्तिकै सहज भएको थियो तर सेड्रिनाको कामबाट निर्देशक बढी प्रभावित भएका थिए ।
शायद सेड्रिनाको अभिनयको खुबी हुनुपर्छ, दर्शकले पनि रुचाए उनको अभिनय । उनी फिल्मकी ‘नायिका’ बनिन् । धेरै चर्चा उनकै चल्यो ।
‘सेटमा पनि सेड्रिनाले अझ यसरी राम्रो गर्न सकिन्छ कि भनेर सोध्ने गर्थिन्, सानो उमेरमै उनको यो खुबी देखेर आफैलाई अचम्म लागेको थियो ।’, आचार्य सुनाउँछन्, ‘बोडी ल्याङ्ग्वेज, र चरित्रमा उनले कोशिश गरिन्, अलिकति उनको स्वभावले पनि साथ दियो ।’
इलाममा फेरि मुना पलाउँदा
निर्देशक विकासराज आचार्य केही महिना पहिले लोकेसन खोज्न इलाम पुगेका थिए । त्यतिबेला इलामको चिया बगान पूरै हरियाली थियो । निर्माण टिमको योजना इलामको चिया बगानलाई पनि क्यामेरामा उतार्ने थियो तर केही दिन पहिलेमात्र सबै मुना काटेछन् त्यहाँ ।
सोचेजस्तो भएन ।
छायांकार पुरुषोत्तम प्रधानले निर्देशकलाई भने, ‘इलाममा शूटिङ सम्भव छैन, पछि आउँला ।’
झापाको अन्य स्थानको शूटिङ सकिएको थियो । त्यताको शूटिङमा त्यही इलामको शूटिङ बाँकी थियो । मौसम पनि खासै खुलेको थिएन बादल लागेको थियो ।
‘शायद त्यो भाग्य नै हो, हामी पुग्दा इलाम फुङ्ग उडेको थियो, हरियाली केही थिएन, छायांकन गर्न सकिन्न कि भनेर निराश भयौँ ।’, विकासराज खुशी व्यक्त गर्दै सुनाउँछन्, ‘हामी पुगेकै दिन ठूलो पानी पर्यो, पानी परेपछि तीन/चार दिनमै मुना पलाउने रहेछ, तीन दिन कुरेर शूटिङ गरेर फर्कियौँ ।’
फिल्मको एउटा आकर्षण इलामको चिया बगान पनि हो । त्यतिबेला झण्डै यो दृश्यले छुटाउलाजस्तो थियो । ‘त्यो समयमा पानी नपरेको भए शूटिङ गर्न गाह्रो हुन्थ्यो, कस्तो संयोग पारेर झरी पर्यो ।’, अहिले आचार्यलाई यो संयोग सम्झिँदा रमाइलो लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया