राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई सात वर्ष कैद सजाय

लोकपथ
0
Shares

सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई कैद र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्दकुमार आचार्यको इजलासले बिहीबार उक्त आदेश दिएको हो ।

जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतका चौमन घर्तीमगर र भुपेन्द्र बुढामगरलाई सात–सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना सजाय तोकेको छ । अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो । यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?