एशिया कप छनोट: नेपाल फाइनल होडबाट बाहिरियो, हङकङसँग ३ विकेटले पराजित (तस्वीर सहित)

मलेसिया । मलेसियामा जारी एशिया कप छनोटको फाइनल होडबाट नेपाल बाहिरिएको छ । 

क्वालालम्पुरको यूकेएम ओभलमा मंगलवार भएको समूहको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको हो । 

९६ रनको सामान्य विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको हङकङकले ३२ दशमलब ३ ओभरमा ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो । 

हङकङका लागि कप्तान अंशुमान रातले अर्धसतकिय पारी खेले । उनले ८१ बलमा ३ चौका र १ छक्काको मदतमा ५२ रन बनाए । उनलाई नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरे । त्यस्तै, किन्चित शाकले ११ रन तथा ओपनर ब्याट्सम्यान क्रिस्टोफेर कार्टेरले ८ रनको जोडे ।  

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले समूहको अन्तिम खेलमा ३७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल तयार पारेको छ । पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्य रनमा नै आउट भए ।

यता, कप्तान पारस खड्का १४ रन बनाएर आउट भए । उनलाई हङकङका म्याककेचिनीले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले  अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे।

उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे । सागर पुन ७ रनमा नै आउट भए ।  दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले मात्र २-२ रन बनाए । ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता नै खोल्न सकेनन्  बसन्त रेग्मी १५ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७ दशमलब ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिन सफल भए। त्यस्तै तनवि अफजल र अइजाज खानले समान २-२ विकेट लिएका थिए । 

नेपालले लिगमा ५ मध्ये ३ खेल खेलमा हार बेहोरेको थियो भने दुई खेलमा जीत दर्ता गराएको थियो । हारसँगै नेपालको एशिया कप खेल्ने सपना चकनाचुर भएको छ ।  जितपछि हङकङ भने फाइनल नजिक पुगेको छ ।

तस्वीर : एशियन क्रिकेट काउन्सिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?