काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको हत्यामा तत्कालिन कंचनपुर जिल्लाका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजाको संलग्नता नरहेको दावी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेरसिह कडायतले बुधवार आफ्नै कार्यकक्षमा संचारकर्मीसंग साक्षात्कार गर्दै एसपी विष्टका छोरा किरण र मेयर विष्टका भतिजा आयुसको कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन ।
निर्मला हत्याकाण्डमा केही अनलाईन र समाजिक सञ्जाल फेसबुकमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको नाम जोडेर आएको थियो ।
एसपी कडायतले भने पक्राउ सबैमाथि सुक्ष्म अनुसन्धान भईरहेको छ । उनीहरु दुवैमाथी विभिन्न कोणबाट भएको अहिलेसम्मको अनुसन्धानले थुनिहाल्नु पर्ने अवस्था देखिएको छैन । उनीहरुको संलग्नता देखिएको पनि छैन ।
‘हामीले विभिन्न तरिकाले उनीहरुलाई सोधपुछ गर्ने देखि लिएर उनीहरुको सम्पर्कमा भएकादेखि लिएर हरेकसंगको कनेक्टिभिटिको सबैको अध्ययन भईरहेको छ, ‘एसपी कडायतले भने ‘उनीहरुलाई अहिले नै दोषी भन्नका लागि गतिलो प्रमाण भेटिएको छैन ।
कञ्चनपुर प्रहरीले आदालतबाट दोषि प्रमाणित नहुन्जेलसम्म कसैको चरित्र हत्या हुने गरी समाचार प्रशारण तथा प्रकाशन नगरी दिन आग्रह गरेको छ ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४२ दिन पुगिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन । एस्पी कडायतको भनाइले राजधानीबाट खटेको उच्चस्तरिय अनुसन्धान टोली समेत संकटमा परेको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ बर्षिय दिलिप सिह विष्टलाई निर्मला हत्याको अभियोगमा भदौँ ४ गते सार्वजनिक गरेको थियो ।
अहिले दिलिपको मानसिक अवस्था ठिक नभएको भन्दै उपचारका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ ।
घटनाको थप अनुसन्धान गर्नका लागि सिआईबीका एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको उच्चस्तरिय अनुसन्धान टोली महेन्द्रनगरमा तैनाथ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया