पश्चिम रूकुमको पानढुंगा रङ्गशाला निर्माण अलपत्र

रुकुम : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०/७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४/७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । 

खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि छ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 

छ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिए । निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रङ्गशाला निर्माण अलपत्र परेपछि निराश भएका छन् भन्दै तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिए । 

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष ०७०/७१ मा रु एक लाख ५० हजार, ०७१/७२ मा रु पाँच लाख, ०७२/७३ मा रु १५ लाख र ०७३/७४ मा रु ४५ लाख गरी हालसम्म रु ६६ लाख ५० हजार खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । उक्त बजेटबाट रङ्गशालाको ट्र्याक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन । 

रङ्गशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३/७४ मा रु पाँच लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन । निर्माणका लागि आउने रकम मध्येबाट कटाएर रु पाँच लाख डिपिआरका लागि छुट्याइए पनि 
राष्ट्रिय खेलकुँद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?