म स्टार हैन, कलाकार बन्ने दौडमा छु : प्रदीप खड्का

काठमाडौं । केही वर्षयता प्रदीप खड्काको दैनिकी अलिक व्यस्त छ । अरुबेला त्यति सहजै उपलब्ध नभए पनि फिल्म रिलिजका बेलामा उनी दर्शकमाझ पुगेकै हुन्छन् । आफ्नो फिल्म रिलिजको समयमा दर्शकबाट प्रतिक्रिया लिइरहेका हुन्छन् ।

हजारौँ फ्यान कमाएका प्रदीप यतिबेला फिल्म ‘रोज’ का कारण चर्चामा छन्, जुन भोलि (शुक्रवार) देखि रिलिज हुँदैछ । फिल्म रिलिज हुँदैछ है, भन्ने जानकारी गराउन प्रदीपको इनर्जी बढेको छ यतिबेला ।

यही मेसोमा आफ्ना कुराहरु शेयर गर्न उनी बानेश्वरको एक क्याफेमा भेटिए । गुलाफी कलरको सर्ट र ग्रन्च जिन्स पाइन्टमा कुराकानी गर्न आएका प्रदीपलाई हामीले सोध्यौँ, ‘तपाईं त फिल्म छानेर खेल्ने कलाकार, रोजमा त्यस्तो के थियो र अभिनय गर्न तयार हुनुभो त?’

‘मैले यसअघिका फिल्ममा पनि फरक–फरक भूमिकामा काम गर्ने कोशिश गरेकै हो, अझ ‘प्रेमगीत २’ मा त आफ्ना भूमिकालाई अझ फरक बनाउने कोशिश थियो, उक्त फिल्ममा देखाउन नपाएको चरित्रलाई यो फिल्ममा देखाउन खोजेको छु’, उनले अझै स्पष्ट पार्दै थपे, ‘लभर ब्यायका भूमिकामा त काम गरिएकै हो, नकारात्मक प्रेमीको भूमिकामा दर्शकले पहिलोपटक देख्नुहुनेछ ।’

उनका अनुसार फिल्ममा उनी ‘एन्टी हिरो’ छन् । रोजको कथा एक साधारण युवाले किन आफ्नी प्रेमिका मार्न बाध्य हुन्छ भन्ने वरिपरि छ ।

उनले भने, ‘फिल्मले तान्ने खुराक पनि त्यही हो, पात्रलाई किन प्रेमिका मार्नैपर्ने अवस्था आउँछ त भन्ने कुरालाई हामीले कथा बनाएका छौँ ।’

साथै प्रदीपले आफूले अभिनय गर्ने हरेक फिल्ममा सक्दो राम्रो गर्न प्रयास गर्ने बताए । त्यसो त यसअघिका फिल्मबाट उनले औसत प्रतिक्रिया पाइरहेका छन् । उनका फिल्म भने व्यापारिक रुपमा सफल छन् । समीक्षात्मक रुपमा उनले बेलाबेलामा ‘कच्चा’ अभिनय भन्दै गाली पाइरहे पनि हलसम्म दर्शक ओसार्ने अभिनेतामा पर्छन् प्रदीप ।

दर्शकले यो सुविधा एकाध कलाकारलाई मात्र दिएका छन् । फ्यानका नजरमा उनी हिरो छन् । उनको फिल्म रिलिज हुँदा हलमा दर्शकले साथ दिन्छन् । सामान्य कन्सर्टमा पनि फ्यानको क्रेज फैलिहाल्छ ।

‘मैले हरेक सिनेमामा अझ राम्रो गर्ने प्रयास गरिरहेको हुन्छु, पछिल्लो फिल्ममा अझ सुधार गर्न सकियोस् भन्ने चाहना राख्छु’, प्रदीपले लोकपथसँग भने, ‘एउटा फिल्ममा देखिएको कमजोरीलाई अर्को फिल्ममा सुधार्ने प्रयास हुन्छ, दर्शकको चित्त बुझोस् भन्नेमा म सधै अलर्ट हुन्छु ।’

पछिल्लो समयमा चर्चित अभिनेताको सूचीमा प्रदीप खड्काको नाम पनि अटेको छ । कतिपयले उनलाई अनमोल केसीसँग प्रतिस्पर्धा गरिरहेको पनि भन्छन् । तर प्रदीप भने आफूले कसैसँग प्रतिस्पर्धा गरेको भन्दा पनि ‘राम्रो काम’ गरेर फ्यानको मन जित्न चाहेको बताउँछन् ।

‘पृथ्वी गोलो छ, संसार सर्कलमा चल्छ, मेरो प्रतिस्पर्धा अरुसँग भन्दा पनि सकभर आफ्नै कामसँग हुन्छ, मलाई रेसमा दोडिनु छैन, किनकि म स्टार हैन, कलाकार हुन खोजेको हो’, उनले स्पष्ट पार्दै थपे, ‘रेसमा दौडिनु खोज्नु भनेको चक्रपथमा गाडी कुदाएजस्तै हो, हामी घुमिरहन्छौँ, कसैले न कसैले उछिनेको हुन्छ ।’

उनले फेरि बोले, ‘हिजो म जे थिएँ, अहिले छैन, कत्तिको स्पिडमा अगाडि बढ्ने र कहाँ पुग्ने भन्नेमा म सचेत छु, तर प्रतिस्पर्धा नभएर कामका हिसाबले सचेत छु ।’

चाहे राजधानीमा होस्, या मोफसलमा । उनी उपस्थित हुने कार्यक्रममा क्रेजी फ्यानहरुको कमी हुँदैन । उनलाई स्टार मान्ने कलाकारको कमी छैन । हस्पिटलको बेडमा उपचार गराइरहेका बिरामी पनि उनको कार्यक्रममा आएर साथ दिएका रमाइला याद उनीसँग छन् । त्यो सबै आफ्नो कामले दिएको मायाका रुपमा उनले हेरेका छन् ।

‘मलाई के लाग्छ भने समाजमा स्टार त हरेक क्षेत्रमा हुनुहुन्छ, तर हामी (कलाकार) लाई किन स्टार भनिएको होला भने सिधै दर्शकसम्म नपुगे पनि विभिन्न माध्यमबाट नजिक भइरहने भएर होला’, प्रदीपले आफ्नो कपाल मिलाउँदै सुनाए, ‘सूर्यविना हाम्रो दैनिकी पनि शुरु हुँदैन, सूर्य सबैको नजिक हुन्छ, म पनि सूर्यजस्तै सबैको नजिकको स्टार बन्न चाहन्छु ।’

उनका अनुसार प्रतिस्पर्धा स्टार (तारा) को नहोस् तर कामको होस् । अँध्यारोमा देखिने हजारौँ तारा होइन होइन, सबैको प्रिय सूर्यजस्तो होस् । ‘दर्शकसँग नजिक हुन पनि पाइयोस्, कामबाट चिनिन पनि पाइयोस् ।’, उनले सुनाए ।

कुराको अन्तमा उनले थपे, ‘रोजमा मेरो भूमिका बेग्लै छ, सोझो प्रेमी हुँ, पाइलट पढ्न विदेश जान्छु, आफ्नो भूमिकालाई सक्दो राम्रो बनाउने प्रयास गरेको छु ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?