लमजुङ । लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । बेंसीहर नगरपालिका-११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ ।
कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् । खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् ।
फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकोटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका थिए । किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलव्ध गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया