हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा

बाँके । जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् । 

अन्य व्यावसायिक बैंकभन्दा भरपर्दाे, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सहज हुने भएकाले शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिक हुलाक बैंकप्रति बढी आकर्षित छन् । तर सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्तामा भने निराशा छाएको छ । 

सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ता निराश बनेका छन् । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजैरूपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताको हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो थियो । 

रकम बचत गर्दै गरेका डुडुवा–२ बेतहनीका रामदिन बर्माले भने, “रु एक सयमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो । खाता सारेपछि हामीलाई हैरान हुन्छ । यहाँजस्तो सुविधा अरु बैंकमा पाइँदैन ।” 

कारोबार गर्न सहज भएकै कारण निम्न आय भएका बाँकेवासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोबी भने, “सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरि रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।” 

बाँकेमा हुलाक बचत बैंक शुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकको रूपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रूपमा हुलाक बचत बैंकलाई लिइएको छ । 

“हामीले सहजरूपमा सेवा पाइरहेका थियौँ, अब अन्य बैंकमा खाता हस्तान्तरण गरी कारोबार गर्दा झण्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगन्ज–२३ का बिनय बर्माले भन्नुभयो, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा छ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा सात प्रतिशत बार्षिक ब्याज पाइन्छ । 

चिठ्ठीपत्रलगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारी पनि बचतकै काममा बढी केन्द्रित हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताउनुभयो । उनले भने, “हिजोआज चिठ्ठीपत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।” 

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा दुई हजार ८० खातामध्ये एक हजार ७७५ खाता सञ्चालनमा रहेका छन् । बचतकर्तामध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिक रहेको गडरियाले बताए । बचत बैंकमा हाल रु नौ करोडभन्दा बढी रकम रहेको उनले बताए । 

फाँट प्रमुख गडरियाका अनुसार रु ५० देखिमाथि रु १० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताको आकर्षण बढ्दो क्रममा रहेको थियो । खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशनअनुसार रोकिएको छ । ‘तर बचतकर्ता नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहनुभएको छ । हामीले सम्झाएर पठाउने गरेका छौँ”, फाँट प्रमुख गडरियाले भने । बाँकेमा २०६३ असोजदेखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?