६ महिनाको छोरा छाडेर शूटिङमा खटिएँ: एलिजा गौतम

काठमाडौं । नेपालमा फिल्म हल धेरै छैनन् तर सिनेमा बनिरहन्छन् । यति सिनेमा बन्छन् कि, दर्शकलाई हप्तैपिच्छे प्रदर्शनमा आउने फिल्मले कुन हेर्ने भन्ने नै कन्फ्युज बनाइदिन्छ ।

त्यही कन्फ्युजलाई चिर्न फिल्ममेकरले रिलिजका बेला फिल्मका बारेमा खुलेरै बोल्ने गर्छन् । प्रचारका लागि अनेक उपाय अपनाउँछन् ।

‘अनुराग’ टिम पनि यतिबेला प्रचारमा लागिपरेको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमलाई भय छ, ‘कतै यो फिल्म पनि अरु फिल्मजस्तै भीडमा हराउने त होइन?’

फिल्ममा छिन् एलिजा गौतम । यही फिल्मको चर्चाले उनलाई दर्शकमाझ पु–याएको छ ।

नेपाली सिने वृत्तमा एउटा फरक कुरा के छ भने बिहे गरेपछि हिरोइनहरु यो क्षेत्रबाट टाढिन्छन् । तर पत्रकार ऋषि धमलापत्नी एलिजा गौतम भने बिहे गरेको लामो समयपछि बल्ल सिनेमा क्षेत्रमा डेब्यु गरेकी छिन् ।

‘आफ्नै फिल्मबाट एलिजा जीलाई डेब्यु गराउने भनेर ढिला पक्कै भएको हो’, प्रस्तुतकर्ता समेत रहेका धमलाले भने, ‘एलिजा जीको फिल्ममा अभिनय गर्ने रहर बिहेअघिको नै हो ।’

यता एलिजाले पनि आफूले सानैदेखि सिनेमामा काम गर्ने रहर भए पनि परिवार ‘सेटल’ गराएर मात्र यो क्षेत्रमा आउन चाहेको बताइन् ।

‘यो फिल्मका लागि मैले दुःख गरेकी छु, ६ महिनाको छोरा  (एरिक) लाई छोडेर फिल्मको छायांकनमा गएँ’, एलिजाले थपिन्, ‘फिल्ममा स्थापित हुने सानैदेखिको रहर हो, ‘अनुराग’ चाहिँ कथाले लोभ्याएपछि बनाउने निर्णय गरेका हौँ ।’

फिल्ममा एक जोडीको पीडादायी कथा भएको एलिजा बताइन् । उनका अनुसार सिनेमा म्युजिकल लभस्टोरी ड्रामा हो ।

‘अनुराग’ फिल्ममार्फत निर्मातामा समेत हात हालेका ऋषि धमलाले भने यो फिल्म व्यस्तताका कारण आफूले अहिलेसम्म हेर्न नपाएको बताए ।

पत्नीलाई हिरोइनमा डेब्यु गराउन फिल्म निर्माण गरेका धमलाले भने, ‘उहाँलाई अरु फिल्मबाट पनि अफर आएको थियो, पहिले आफैले राम्रो फिल्म बनाउने सोच हो, कथा मन परेपछि बनाएँ ।’

एलिजाले पनि यसअघि फिल्मबाट अफर आएको स्वीकारिन् । तर पारिवारिक कारण देखाउँदै उनले फिल्ममा काम नगरेको बताइन् । एलिजाले भनिन्, ‘बिहे भइहाल्यो, कलेज पढ्दै थिएँ, फिल्ममा काम गर्ने रुचि त पहिलेदेखि नै थियो, तर भनेजस्तो भएको थिएन ।’

एलिजाको कुरामा आफ्नो कुरा थप्दै ऋषि धमलाले भने, ‘रहर त जसको पनि हुन्छ, रहर गरेर मात्र हुँदैन, अभिनय पनि गर्नुप–यो नि ।’

‘अनुराग’ को तयारी हुँदा आफू दुई महिनाकी सुत्केरी भएको पनि एलिजाले सुनाइन् । 

फिल्मको लगानी जति नै होस् तर ऋषि धमलाले भने झण्डै पौने दुई करोडको खर्च भएको  बताए । उनले भने, ‘रिलिज हुने बेलासम्म झण्डै पौने २ करोड खर्च भयो, सोचिएको थिएन ।’

यो फिल्ममा पहिले पल शाहले अभिनय गर्ने भन्ने कुरा पनि उठेको थियो । बीचमा फेरि पलले हात झिके भन्ने समाचार आए ।

एलिजाले अन्तर्वार्तामा पलको कुरा उठ्दै गर्दा बीचमै कुरा काटेर बोलिन्, ‘उहाँले छोड्नुभएको होइन, हामी एउटा राम्रो र सुहाउँदो नायकको खोजीमा थियौँ ।’

पहिलो फिल्म आफ्नै ब्यानरबाट गरेका कारण केही फिल्म रिजेक्ट गरेको बताउने एलिजाले ‘अनुराग’ को ट्रेलर र गीतबाट भने चर्चा पाएको बताइन् । ‘दर्शकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’, उनले थपिन् ।

‘अफर आउँदैमा फिल्म खेलिहाल्ने भन्ने छैन, बिहे गरेपछि परिवारको कुरा पनि हुन्छ’, एलिजाले भनिन्, ‘फिल्मभन्दा ठूलो परिवार हो ।’

परिवारपछि फिल्मलाई स्थान दिने एलिजाले अब भने बाहिरका ब्यानरमा पनि काम गर्ने बताइन् । साथै उनले बिहेअघिदेखि चलचित्रमा अभिनय गर्ने चाहना बल्ल पूरा भएको बताइन् ।

नजिकै बसेका धमलाले एलिजाको कुरामा थप्दै भने, ‘उहाँको रुचि देखेर लगानी गरेर फिल्ममा वातावरण निर्माण गरिदिएको हो ।’

पत्नीका लागि फिल्म निर्माण गरेका धमलाले अगाडि थपे, ‘अरु फिल्म बनाउने कि नबनाउने भन्ने अहिले नै त भन्न सकिन्न, तर फिल्म मेकिङमा कन्टिन्युटी भने हुनसक्छ’, उनले अगाडि थपे, ‘एलिजा जीसँग बिहे नगरेको भए फिल्म बनाउँदिनथे, पत्रकारका रुपमा यो क्षेत्रमा पक्कै हुन्थेँ ।’

धमलाले यसो भन्दा एलिजा मुसुक्क हाँसिन् र देब्रेतिर बसेका पति धमलातिर पुलुक्क हेरिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?