जुम्ला । जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए ।
निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए ।
उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ना उनीहरूलाई प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने गरेको छ ।’
भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख महतले बताए । उनका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो । यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो । रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया