काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको रुपमा कारोबार गर्दै आएका यी दुबै कम्पनीहरुले आज आइतबारबाट हमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाउँबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
मकर्जरको लागि दुबै कम्पनीहरुले बैशाख २३ गते प्रारम्भिक सम्झौता गरेका थिए । बीमा क्षेत्रमा भएको यो नै पहिलो मर्जर हो । होटल याक एण्ड यतीमा आइतबार आयोजित विशेष समारोहबीच बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवालले एकीकृत कारोबारको सुभारम्भ गरेका हुन् ।
कार्यक्रममा उनले वित्तीय क्षेत्रमा स्थायीत्व कायम गर्ने सफल मर्जरको लागि गौरव महसुस गरेको बताएका थिए । आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुने गरेको भन्दै मर्जर र पूँजीवृद्धि मार्फत सबल र दायरा विस्तार गर्ने लागि परेको अध्यक्ष सिलवालले बताए ।
बीमाको पोलीसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्न सक्ने बीमा पोसीसी चाहिने उनको भनाई थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जर मार्फत सूचिकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे ।
दुबै कम्पनीहरुले बैशाख २३ गते एभरेष्टको एक सय कित्ता बराबर हिमालयन जनरलको ८५ अर्थात १:०.८५ को स्वा्प रेसियो कायम गर्दे मर्जरको लागि तयार भएका थिए । मर्जर अघि हिमालयन जनरलको चुक्ता पूँजी एक अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्टको चुक्ता पूँजी एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुंजी दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया