पर्वतको कुश्मामा अनाैठो सर्प भेटियो, स्थानीय त्रसित

पर्वत : अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । 

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । 

झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन । गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले पिरोलिएका छन् । 

उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन् । विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताए । स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन् । 

यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा पनि भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?