काठमाडौं । गएको शुक्रवारदेखि नेपालभर दुई चलचित्र ‘रोज’ र ‘रामकहानी’ रिलिज भएका छन् । चलेका ब्यानरका दुई चलचित्र जुधेपछि दर्शकको ध्यान तान्नु नौलो कुरा होइन, दुई फिल्म जुध्दा दर्शकको ध्यान नेपाली सिनेमातिर गएको छ । समाचार माध्यमदेखि दर्शकको चासो घरेलु सिनेमातर्फ मोडिएको छ । अर्कातिर बजार नै पल्टाउने खालका कुनै विदेशी फिल्म यतिबेला रिलिज भएका छैनन् ।
कुन फिल्म कस्तो? हामीले यहाँ जस्ताको तस्तै आएका शुद्ध प्रतिक्रियालाई प्रस्तुत गर्न खोजेका छौं:
कस्तो छ प्रदीपको रोज?
प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ लाई हलसम्म आउन बढी नै सकस खेप्नुपरेको थियो । विभिन्न कारणले विवादमा आउँदै अन्ततः हलको मुख देख्न पाएको यो फिल्मलाई कतिपयले प्रदीपको झुर फिल्ममध्येकै एक फिल्मका रुपमा पनि हेरे ।
यद्यपि हलमा दर्शकको क्रेज भने बडो गज्जबको देखिएको छ । शुक्रवार र शनिवार काठमाडौंका विभिन्न हलमा प्रदीप फ्यानबाट घेरिए ।
फिल्मको कुरा गर्ने हो भने यो फिल्मले औसत प्रतिक्रिया पाएको छ । कतिपय दर्शकले तारिफ गरे पनि धेरैले भने निर्देशकका कारण फिल्मले लय गुमाएको प्रतिक्रिया दिएका छन् । तर, फिल्म हेरेका दर्शकले मिरुना मगरको अभिनयको भने खुलेर तारिफ गरेका छन् । यसको कथानक र मेकिङले भने खासै तारिफ पाउन सकेन ।
यद्यपि सस्पेन्स थ्रीलर फिल्म मन पराउने दर्शकले यो फिल्म मन पराउने सम्भावना छ ।
अनि, रामकहानी?
दर्शकको प्रतिक्रियालाई आधार मान्ने हो भने यो फिल्मको कहानीले दर्शकले ‘ट्ँवा’ बनाइदिएको छ । दर्शक र समीक्षाको प्रतिक्रियालाई आधार मान्दा फिल्मले राम्रो प्रतिक्रिया पाएको छैन ।
समाचारका अनुसार त यो फिल्म अहिलेसम्मकै हिट फिल्म हो कि झैँ लाग्छ । तर, समीक्षकले ‘रामकहानी’ लाई सुदर्शन थापाको अपवाद फिल्म ‘चंखे शंखे पंखे’ जस्तो भएको प्रतिक्रिया दिएका छन् ।
स्मरण रहोस्, ‘चंखे, शंखे, पंखे’ थापाको निर्देशनमा बनेको फ्लप फिल्ममध्ये एक हो ।
फिल्ममा माग्ने बूढा (केदार घिमिरे) र जितु नेपालको अभिनयलाई भने दर्शकले रुचाएका छन् । दर्शकका अनुसार मेरी बास्सैको माग्ने बूढालाई खोज्ने हो भने यो फिल्म हेर्दा फरक पर्दैन । अभिनय औसत भए पनि जितु नेपालको भूमिकालाई पनि दर्शकले रुचाएका छन् । अर्कातिर यो फिल्मले कथा चोरिएको भनेर समेत आरोप खेपेको छ ।
जे होस्, कमेडी फिल्मका दर्शकलाई भने फिल्म केही स्वादिलो लाग्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया