जुम्ला । कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरीपालनको लागि उनीहरुले तालिम पाएका होइनन् । त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ ।
मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ । ‘एक किलोको ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । घरमा १० वटा मौरीका घार छन्’ उनले भनिन, ‘रोथ हाम्रो लेखाली घर हुन् । यहाँ आलु, सिमी गँहु, मकै लगायतको अरु उत्पादन पनि हुन्छ ।’
त्यस्तै सोही ठाउँका बिष्णुखर रावतका घरमा पनि मौरीका ११ घार छन् । उनी भन्छन्, ‘म १२ वर्षको हुँदा आमाले मह काढेको देख्थे, पछि मौरीपालन गर्ने इच्छा जाग्यो ।’ मौरीको घर र मह अहिले उनी आफैं व्यवस्थापन गर्छन् ।
आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका उनी अहिले सफल भएका छन् । ११ घार मौरी पालेका उनी मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्छन् । उनको लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । उनी भन्छन्, ‘अहिलेसम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।’
आधुनिक रुपमा मौरी पालनको लागि तालिम पाएको खण्डमा आफूहरुलाई सहज हुने उनी बताउँछन् । परम्परागत घारमै बसेका मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ । त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउँछिन् ।
मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उनका अनुसार मह प्रतिकिलो ३ हजारका दरले घरमै बिक्री हुन्छ । ‘अहिले बजारको माग धान्नै गाह्रो छु, उनले भनिन् ‘मह खरिदका लागि घरमा आएका कतिपय नपाएर रित्तै फर्किंन्छन् ।’
घारको मौरी छुट्टिन लागेको मेसो पाउने वित्तिकै उनीहरु घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घार बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह हुन्छु उनी भन्छिन्, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पालिरहेको छ ।’
थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनको भनाइ छ।
परम्परागत घारका तस्बिरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया