उठ नायक

च्यातिएको च्यादरबाट
कहिले घाम छिर्छ

कहिले पानी चुहिन्छ मेरा बस्तीहरुमा
अभाव
भोक
चित्कार
दारुण दृष्य
यस्तै यस्तै छन् वरिपरिका विशेषताहरु ।

छोरीको रित्तिएको बैंस देखेर निराश बा जस्तै
गाउँतिर निराश छन् वनपाखा,
बलवैंशका तन्नेरीहरु देख्न नपाएर
उता शहरतिर
बल वैंशका तन्नेरीहरु देखेरै निराश छन्
म्यानपावरका हाकिमहरु
उडाउन नपाएर !

रोल्पाको भोकबाट क्रान्ति खोजियो
गरियो क्रान्ति र सफल पनि मानियो
तर भोक झनै बल्झिएका छन्,
बल्झाउनेहरु माथि पुगे
आर्तनाद गुञ्जिएको गुञ्जियै छ,
अह ! त्यो सुन्दैन शासक
किनकी
उसको घरको भित्तामा ‘साउण्ड प्रुफ’ प्रविधि जडान छ

हो, यहि टकरावले नै हो,

आज देशलाई सबैभन्दा बढी माया गर्नेहरु नै
देशको सीमानाबाट सबैभन्दा धेरै टाढा पुग्नुपरेको छ ।
देशको चुल्हो तातो पार्नकै लागि
आमाको आँखाको डिल चिस्याएर
खाडीको बालुवामा ज्यान तताउनेहरुको कथा हेर्नुस् त
मलाई अहिले त नेपाल गौथलीको गुँड जस्तो लाग्छ,
यसकारण कि

माटो टिप्न कसैका बचेरा उडेका छन्,
कसैका माउ नै उडेका छन् ।

***

मेरा हजुरबाले मेरा बालाई दिएको भन्दा
मेरा बाले मलाई दिएको देशको आकृति खुम्चिएको छ ।
मलाई डर छ
कतै मैले मेरो छोरालाई दिने बेलामा
मेरो देश क्यारमबोर्डको गोटी जत्रो त हुने होइन ?

जयसिंहहरु अझै बग्छन्
न्याय पाउँदैनन्
महाकालीबाट बग्दैबग्दै महासागर पुगेर विलिन हुनेछन्
अहँ !
न्याय पाउँदैनन्
तर,
एकदिन उनीहरुको वलिदान
समुन्द्रको गहिराइबाट मुगा बनेर निस्किनेछ ।
अनि
फुल्नेछन् निर्मलाहरु पनि
खुला आकाशमा
स्वतन्त्र आफ्ना पँखेटा फिँजाउँदै
शान्तिको सन्देश बोकेर ।

कुनै दिन देशमा प्रजातन्त्र प्यारो थियो
ल्याइयो देश बनेन
लोकतन्त्रको महिमा गाइयो
ल्याइयो देश बनेन
पछि
गणतन्त्र चाहियो
ल्याइयो देश बन्ने बन्ने तर्खरमा छ
तर अझै नपुगेर अब
फेरि राजतन्त्रै फर्काउन पर्छ भनिँदैछ
म भन्छु
यो देशलाई ‘तन्त्र’ होइन
एउटा नायकको खाँचो छ !!
जय देश
जय नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?