नयनराज पाण्डेको ‘यार’ लाई पद्मश्री, ताना शर्मालाई साधना पुरस्कार

काठमाडौं । यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक तथा साहित्यकार नयनराज पाण्डेलाई प्रदान गरिने भएको छ । 

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७४ को पद्यश्री पाण्डेको ‘यार’ लाई र पद्मश्री साधना सम्मान डा. तारानाथ शर्मालाई दिने निर्णय गरेको हो ।

वर्ष ०७४ मा प्रकाशित साहित्यिक कृतिमध्ये एक छानिने क्रममा नयनराज पाण्डेको ‘यार’ छनोटमा परेको हो । पद्मश्री साधना सम्मान नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा लामो समयदेखि साधना गरेर योगदान पु–याउने साधकलाई प्रदान गरिने गरिन्छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०६२ सालदेखि मोफसलबाट प्रकाशित उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्दै आएको थियो । पछि २०६६ बाट देश तथा विदेशबाट नेपाली भाषामा प्रकाशित कृतिमध्ये एकलाई पुरस्कार प्रदान गर्न थालिएको छ ।

पद्मश्री र पद्मश्री साधना सम्मान दुवैका पुरस्कार र सम्मानको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?