चितवन । चितवनमा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण संघसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।
यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए । साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्ने उनको भनाइ छ ।
त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौंबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।
काठमाडौंबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ ।
जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्यांक रहेको पौडेलले बताए ।
क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया