मनिचेञ्जर कारोबार गर्ने कम्पनीहरुको १० देखि २० लाख रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने

लोकपथ
14
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (दोस्रो संशोधनसहित) प्रस्तुत सार्वजनिक गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र लिई मनिचेञ्जरको कारोबार गर्ने कम्पनीलाई इजाजतपत्र प्रदान गर्ने एवम् तिनीहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी उक्त विनियमावली सार्वजनिक गरेको हो ।

बिनियामावली अनुसार मनिचेञ्जरको कारोबारको इजाजतपत्र प्राप्त गर्न तथा इजाजतपत्र नवीकरण गर्न भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि एक लाख रुपैयाँ बुझाउने पर्ने छ । यसैगरी परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि पाँच लाख रुपैयाँ बुझाउनु पर्ने छ । बिनियमावली अनुसार भारतीय र परिवत्र्य दुवै कारोबारका लागि छ लाख रुपैयाँ बुझाउनु पर्ने छ ।

विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत तोकिएबमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप दुई लाख रुपैयाँ प्रदान गर्न सकिने छ । राष्ट्र बैंकका अनुसार यसरी राखिने धरौटी रकम नगद वा बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानतको रूपमा समेत राख्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानतको हकमा सोको अवधि कम्तीमा ४८ महिनाको हुनु पर्नेछ ।

मनिचेञ्जरको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न विनियम ६ बमोजिमको धरौटीको अतिरिक्त राष्ट्र बैंकको धरौटी खातामा भारतीय रूपैयाँ खरिद बिक्री कारोबारका लागि ५० हजार रूपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रूपैयाँ र दुबै अर्थात भारतीय र परिवत्र्य दुवै कारोबारका लागि एक लाख रूपैयाँ धरौटी राख्नुपर्ने छ ।

विनियमावली अनुसार मनिचेञ्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि १० लाख रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि १५ लाख रुपैयाँ, भारतीय र परिवत्र्य दुबैको लागि २० लाख रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?