‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर, २५ भदौ – परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ ।

काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् ।

सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । नाटकलाई रङ्गकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गरेका हुन् ।

मूलतः सन् १९५० को दशकको अमेरिकी समाज र व्यक्तिको चरित्र चित्रण नाटकमा गरिएकामा त्यसलाई नेपाली समाजसँग जोड्ने काम निर्देशक खातीले गरेका छन् । उनलाई निर्देशनमा मण्डला थिएटरका रङ्गकर्मी इंगी होपो कोइच सुनुवारले सघाएका छन् । नाटकमा काठमाडौँदेखि पूर्वतर्फ हुइकिएको बसलाई कृष्णभिरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने देखिन्छ । रातको समय छ । त्यही भएर यात्रु थकाइ मार्न नजिकैको होटलमा पस्छन् ।

कृष्णभिरको पहिरोले अलपत्र सात यात्रु र होटल साहुनीका भिन्नाभिन्नै कथा छन् । तिनै कथा नाटक ‘बस स्टप’ मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाचघरले यसअघि जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक, सुकुम्बासी राजालगायतका नाटक प्रदर्शन गरिसकेको अध्यक्ष कविता शर्माले बताइन् । नाटक आजसम्म प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?