अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

अमेरिका । माध्यमिक कालका केन्द्रीय कवि तथा युवक कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसका अवसरमा अमेरिकाको बोस्टनमा कवि लालगोपाल सुवेदीलाई ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा सम्मान गरिएको छ । 

तीन दशकदेखि कविता, बालसाहित्य, गीत, निबन्ध र समालोचनाका दर्जनभन्दा बढी कृति प्रकाशन गरेवापत उहाँलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन शाखा तथा राजमित्र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा समाजका केन्द्रीय महासचिव र अध्यक्ष भई नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका लागि योगदान गरेवापत पदम विश्वकर्मालाई विशेष सम्मान प्रदान गरियो । 

राजमित्र प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद शैवले भट्टले देवता र राजामहाराजाको स्तुति गर्ने प्रचलनलाई मोड्दै शिष्ट शृङ्गारिक तथा तात्कालिक युगसापेक्ष देशप्रेम, प्रकृतिप्रेम र मानवीय वृत्तिको उद्घाटनतर्फ डो¥याएर नवयुगको आमन्त्रण गरेको र संगठनात्मक, प्रबन्धात्मक र संस्थागत कार्यद्वारा नेपाली साहित्यलाई उठाएको बताए ।

राजमित्र प्रज्ञा–प्रतिष्ठानका संस्थापक तथा संरक्षक सुशील नेपालले आफ्ना पिता राजेन्द्रप्रसादले ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अगुवाइ गरेको आन्दोलनमा सरीक भएर रेडियो नेपाल र छापाखानाको माध्यमबाट भाषिक, साहित्यिक र प्रजातान्त्रिक योगदान गरेको जानकारी दिए । उनका पिता राजेन्द्रप्रसाद र माता मित्रविन्ध्याका नाउँमा स्थापित उक्त पुरस्कार सन् २०१५देखि दिन थालिएको हो । 

समाजका केन्द्रीय महासचिव गोबर्धन पूजाले साहित्य कर्मलाई विराम नदिने वाचा गरे । सो अवसरमा ४०जनाभन्दा बढी सदस्यलाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा महेश्वर पन्तले दुई गजल वाचन गर्नुभयो भने रामचन्द्र रम्घालीले समस्यापूर्ति कविता सुनाए ।

त्यस्तै दीपा राई, अच्युत अधिकारी, हरिमाया अधिकारी, अग्नि पराजुली, सिम्रन पौडेल, मनोज आचार्य, अनु शाह, गण्डकीपुत्र , यम पौडेललगायतले कविता, गीत र गजल प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?