शाैर्यउर्जामा तनहुँका सर्वसाधारणलार्इ २० करोड रूपैयाँको शेयर

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विधुतमा स्थानीयवासीलाई शेयर दिइने भएको छ । 

सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० रूपैयाँ करोडको शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताए । गैरआवासीय नेपालीलाई २० करोड रूपैयाँ तथा संस्थापकलाई १० करोड रूपैयाँको शेयर उपलब्ध गराइने उनले जानकारी दिए।

करीब ५० करोड रूपैयाँ लागतको पाँच मेगावाट क्षमताको उक्त आयोजनामा विधुत उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विधुत उत्पादन हुने आले बताउँछन् । उक्त विधुत खरीदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ ।

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विधुत उत्पादन गर्ने योजना रहेको बताए । “छिट्टै काम शुरु हुन्छ,” उनले भने । सोलारबाट उत्पादित विधुतलार्इ ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक १३ लाख रूपैयाँ भाडा तिर्नेछ । सोलार विधुत खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विधुत खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?