‘टोले गुण्डा’ सँग नडराउनुस्, सूचना दिनुस्, हामी निर्मूल पार्छौं: एसएसपी लामा [भिडियो अन्तर्वार्ता]

काठमाडौं । हालै  सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा काठमाडौंकाे सुरक्षा व्यवस्था चुस्त देखियाे  । सम्मेलनमा सहभागि हुन आएका ‘भीभीआईपी पाहुना’को सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको थियो । यसलाई धेरैले प्रहरीले शान्ति सुरक्षा कायम गर्न सफल भूमिका निर्वाह गरेको भन्दै मूल्याङ्कन गरे ।   जसकाे एक नेतृत्वकर्ता काठमाडौं प्रहरी प्रमुख बसन्त लामा  पनि  थिए, उनै लामासँग लोकपथकर्मी अनिता आचार्यले गरेकाे कुराकानीकाे सम्पादित अंश :

काठमाडौं प्रहरीको पद सम्हाल्दै गर्दा यो बीचमा सुरक्षादेखि सबै दृष्टिकोणले कस्तो पाउनुभयो?

कार्य प्रारम्भमा नेपालमै सम्पन्न  महत्त्वपूर्ण बिमस्टेक इभेन्टमा काठमाडौंकै प्रमुख सेक्युरिटी भएकाले त्यसैमा व्यस्त भइयो । सबैको साथ सहयोगमा प्रभावकारी पनि भयो ।

काठमाडौंमा तपाईंले देख्नुभएका मुख्य चुनौतीहरू के–के छन्?

प्रहरीको पहिलो च्यालेन्ज भनेको प्रहरी कर्मचारी परिचालन नै हो । जहाँ पहिलो च्यालेन्जलाई पार गरिन्छ, त्यहाँ ५० प्रतिशत समस्या कम हुन्छ । यसको अर्थ जहाँ प्रहरी कर्मचारीहरू दिइएको दायित्व, जिम्मेवारीमा कर्मचारी समर्पित भएर लाग्छन् । त्यसपछिका चुनौतीहरू सामना गर्न सहज हुन्छ ।

सबैलाई थाहा छ, काठमाडौंमा सबै प्रकृतिका मानिस बस्ने हुनाले गुण्डागर्दी, आर्थिक लेनदेन, महिला हिंसा आदि जघन्य अपराधहरू मैले यहाँ देखेको छु । अहिले म प्रतिक्रिया लिने क्रममा छु ।

पहिले कुन कुरालाई प्राथमिकतामा राख्ने भन्नेमा विगतका प्रहरी अधिकृत ज्यूहरूसँग उहाँहरूले देख्नुभएको समस्याहरूबारे सल्लाह लिने क्रममा छु । समय एकदमै छोटो भएकाले जतिसक्दो चाँडो सबै पक्षलाई हेरेर अगाडि बढ्ने सोचमा छु ।

तपाईं आउँदा नै केही उद्देश्यका साथ आउनुभएको होला । पोखरामा वेश्यावृत्ति नियन्त्रण कार्यलाई पोखरेलीले अहिले पनि सम्झन्छन् । काठमाडौंको के कुरा मिलाउँछु भनेर आउनुभएको हो?

प्रहरीले गर्ने भनेको शान्ति सुरक्षा र अपराध नियन्त्रण नै हो । यसमा असाध्यै ठूलो चुनौती पनि छ ।

के चुनौती देख्नुभयो?

सफल हुने चुनौती छ । मैले जुन जिम्मेवारी बोकेर आएको छु, त्यसलाई उत्कृष्ट ढङ्गले सम्पादन गर्न जरुरी छ, सम्पादन भन्नाले मलाई दिएको जिम्मेवारी हो, जिम्मेवारी भन्नाले शान्ति सुरक्षा । यहाँ विभिन्न प्रवृतिका मानिसहरू छन् । गुण्डागर्दी, अपराध साथै विभिन्न खाले गैरकानूनी क्रियाकलापहरू यहाँ हुने गर्छन् । त्यस्ता स्थानमा बसेका मानिसहरूलाई शन्तिपूर्वक र सुरक्षितसँग बस्नका लागि माहोल सिर्जना गर्नु ठूलो दायित्व छ ।

पहिले जस्तो रातमा हिँड्न नसकिने अवस्था नभए पनि घटना त भइरहेका छन् । डान्सबारमा विकृति धेरै देखिन थालेका छन् । यसलाई कानूनी दायरामा ल्याउनुपर्ने ‘च्यालेन्ज’ छ ।

संगठित रुपमा हुने तस्करीहरू छन् । यसमा लागेकालाई कानूनी दायरामा ल्याएर नियन्त्रण गनुपर्ने अवस्था छ । काठमाडौंमा विकराल रुपमा रहेको लागुऔषधको  कारोबार र बेचबिखनमा संलग्न  सबैलाई नियन्त्रण गरी लागुऔषध मुक्त समाज बनाउनु आवश्यक छ ।

पछिल्लो समय महिला हिंसा तथा बलात्कारका घटनासँगै ३३ किलो सुन प्रकरणको बिषय पनि छ । त्यसपछि इन्काउन्टरका विषय पनि छन् । यी सबै कुराहरूले आम नागरिकमा एउटा बर्दी लगाएको प्रहरीमा पनि डरको आभास छ । तर, प्रहरीको सबैभन्दा ठूलो ‘च्यालेन्ज’ नै प्रहरी हो भनिरहँदा यसले के संकेत गर्छ?

अबका दिनहरूमा कसैले ढाँटेर, छोपेर अपराध छोपिनेवाला छैन । जनताले सबै  कुरा मूल्याङ्कन गरेका छन् । त्यसमाथि पनि प्रहरीलाई अझ नजिकबाट मूल्याङ्कन गरेका छन् । सर्वसाधारणले मात्र नभएर हरेक पक्षले नियालेका छन् । अबको अवस्था भनेको प्रहरी कर्मचारीले आफ्नो दायित्वलाई बिर्सेर व्यक्तिगत स्वार्थमा लाग्छन् भने त्यो अब सह्य हुँदैन । संगठनले पनि छोड्दैन । र, अबका दिनमा प्रहरी कर्मचारीले त्यस्तो सोच राख्छ भने ऊ आफै फस्छ ।

अर्को कुरा ३३ किलो सुनमा प्रहरीको संलग्नताको विषयमा पाँच महिनादेखि  प्रहरीको  कमान्डरको  रुपमा अनुसन्धानमा खटेको मै हो ।

सुनकाण्डसँग मुछिएका विभिन्न प्रहरी नै संग्लग्न फोन रेकर्ड सार्वजनिक भइरहँदा प्रहरीले साँच्चै हाम्रा लागि गरिरहेको छ भनेर जनतालाई कसरी विश्वास हुन्छ?

व्यक्ति गलत हुनसक्छ । संगठन हुँदैन । प्रहरी गलत हुँदैन । प्रहरीको बर्दी लगाएर त्यो मानसिकतामा काम गर्ने ‘व्यक्ति विशेष’ गलत हो । जो बर्दी लगाएर आफ्नो दायित्व र अधिकारको दुरुपयोग गर्छ, त्यो जनतासामु आउँछ ।

अहिले ७२ हजारको संख्यामा हाम्रा प्रहरी कर्मचारीहरू छन्, ती सबै  राम्रा छन् भनेर ठोकुवा गर्न सकिँदैन । तर, सुधार भएको छ । पहिलेको र अहिलेको अवस्थामा हेर्ने हो भने  धेरै कुरामा सुधार भइसकेको छ ।

अब पत्याउँदा हुन्छ?

एकदम । प्रहरी जनताले दिएको करबाट तलब खाएर यो सेवामा निस्वार्थ रुपले नागरिकको लागि काम गर्छु भनेर आएका हुन् । यदि कुनै प्रहरीले गलत तरिकाले काम गर्छ भने यसलाई भन्ने तपाईंको पनि दायित्व हो । 

प्रहरीले यस्तो गर्‍यो भनेर भन्नुपर्छ कारवाही हुन्छ । संगठन नेपाल प्रहरी हो यो कुनै व्यतिm विशेष होइन । र जुन प्रहरीलाई दायित्व दिएको छ, त्यो संगठनको दायित्व हो । यदि कसैले व्यक्ति विषेशले गर्दछन् भने त्यहीअनुसार कारवाही हुन्छ ।

सुन प्रकरणमा कस्तो किसिमको घरानियाँ हुँदोरहेछ, केही  भेउ पाउनु भएको होेला नि?

सनम शाक्यको हत्या र यसमा जोडिएको सुन तस्करीको बारेमा करीब ५ महिना अनुसन्धान गर्ने अवसर पाएँ । यसमा कस्ता मानिस जोडिएका हुन्छन् भने सुन तस्करी हुन्छ । ठूलो  परिणाममा हुन्छ ।

हामीले यो एउटा मात्र हो उद्घाटन गरेका हौँ । पछिल्लो समय नेपालमा सुनका पसलहरू धेरै खुलिरहेका छन् । न्यूरोडमा अधिकांश सुन पसल छन् । सुन कति व्यवस्थित रुपमा आयो, कति तस्करीको रुपमा पनि आए । नियमसँग पनि आए । सुनका पसलहरू पनि खुले । 

सुन काण्डमा धेरैको संग्लग्नता छ । त्रिभुवन विमास्थलबाट ‘गोरे’ को संग्नलतामा आउने भनेर एउटा पक्षलाई मात्र छुँदा हामीले २ सय  बढीलाई समात्यौँ ।

यो टुङ्गिसकेको अवस्था होइन । यो संगठित अपराधअनुसार भएकाले यो निरन्तर चलिरहेछ संलग्नतामा ठूला माछा र साना माछा मात्र होइन, जोसुकै पनि हुनसक्छ ।

 

दक्षिण एसियामा सुरक्षाको दृष्टिकोणदेखि अरु सबै दृष्टिकाणले उत्कृष्ट भनिएको नेपाल प्रहरीले अनुसन्धानमा निकै समय खर्चिन्छ भनिन्छ, के नेपाल प्रहरीमा आवश्यक प्रविधिक कुरादेखि अरु कुरामा तप्तरता नभएको कि राजनीतिक प्रसय भएर हो?

अनुसन्धान भनेको समय तोकेर हुने होइन । समय लाग्न सक्छ, अमेरिकामा बिन लादेनलाई समाउन कति बर्ष खर्च गरे? प्रविधि त धैरै थियो नि । 

 

एउटा सामान्य नागरिकदेखि भीभीआईपी ओहोरदोहोर भइरहने तपाईं काठमाडौं प्रहरी प्रमुख हुनुहुन्छ । यो सबै दृष्टिकोणले सुरक्षाको प्रबन्ध  कसरी मिलाइराख्नुभएको छ ?

भीभीआईपीको सुरक्षाको निर्देशिका छ । त्यसैले गाइड गर्दछ । कुन व्यक्तिलाई कसरी सुरक्षा दिने भन्ने निर्देशिकालाई आधार मानेर हामीले सुरक्षा दिन्छौँ । सामान्य नागरिकदेखि भीभीइआईपीसम्मको सुरक्षा फरक हुन्छ र हुनु पनि पर्छ । कहिलेकाहीँ सानोभन्दा सानो घटनाले सर्वसाधारणलाई नै अप्ठेरो पार्न सक्छ । यसले विश्वजगतमा पनि असर पार्छ । भीभीआईपीका लागि विशेष सुरक्षा हरेक राष्ट्रले दिने गर्छ । यो सुरक्षाकर्मीको दायित्व पनि हो ।

भनेपछि बिमस्टेक सम्मेलनपछि तपाईंलाई एक किसिमको ढुक्क भो होला है?

ढुक्कभन्दा पनि म आएको प्रारम्भमा यो एउटा ठूलो दायित्व निभाउनुपर्ने थियो । यसमा प्रहरी मात्र नभएर सम्पूर्ण जनता, राजनैतिक दल र मिडियाहरूको साथले गर्दा सफलतापूर्वक सम्पन्न भएको बुझेको छु ।

हिन्दूहरूको महान चाड दशैँ र छठ नजिकिँदै छ यसलाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध कसरी मिलाउने योजना बनाउँदै हुनुहुन्छ?

दशैँमा बढी आर्थिक कारोबार हुन्छ । सर्वसाधारणको चहलपहल, किनबेच गर्ने बढी हुनाले यसमा हामीले विशेष सुरक्षा अपनाएका छौँ । हामीले विगतमा गरेका सुरक्षा उपायलाई मध्यनजर गर्दै अबका दिनमा नयाँ ढाँचाका साथ अगाडि बढ्ने योजना बनाएका छौँ ।

प्रहरीले देखेर पनि नजरअन्दाज गर्छ । शक्तिमा भएकालाई छोड्छ भनिन्छ नि के हो?

अब प्रहरीले त्यस्ता कार्य गर्दैनन्, गर्नु हुँदैन । जनता पनि विनाबर्दीको प्रहरी हो । कुनै प्रहरीले नराम्रा काम गरिरहेको छ भने तपाईंहरूले सूचना दिनुहुन्छ नि । कति ठाउँमा प्रहरीको पहुँच नपुगेको हुनसक्छ । अब ढुक्क हुनुस्, प्रहरीको बर्दी लगाएर खराब काम गर्नेलाई हामी कानूनी दायरामा ल्याउँछौँ ।

काठमाडौंले बसन्त लामालाई प्रहरी प्रमुखको रुपमा पाएपछि अपराधहरू शून्य भयो भन्ने खालका आम नागरिकलाई महसुस हुने योजना केही बनाउनुभएको छ ?

अपराध शून्य बनाउँछु भनेर लाग्ने त हो तर अपराधविनाको समाज कल्पना गर्न सकिन्न । म योजनासहित नै अगाडि बढ्छु । काठमाडौंमा बहुजाति, बहुभाषा, बहुसंस्कृति र शैक्षिक स्तरदेखि सम्पूर्ण कुरामा फरक शैली बोकेका मानिसको झुण्ड छ । सामान्य सुरक्षा र अपराध नियन्त्रणको काम कारवाहीलाई हेर्ने हो भने कुनै कमाण्डर सफल हुँदैन । नेत्तृत्वमा रहेका प्रहरी जो हुनुहुन्छ, उहाँहरू सबैको साथले उत्कृष्ट रुपले सम्पन्न हुन्छ भन्ने मलाई विश्वास छ । जनतालाई पनि विश्वास गर्न अनुरोध गर्दछु ।

व्यवसायीहरूले अहिले पनि टोले गुण्डाले हामीलाई सताइरहेका छन् भन्छन्, यो विषयमा केही सोच्नुभएको छ?

हालै सम्पन्न विशेष कार्यक्रममा सडकमा प्रहरी देखिनु स्वभाविक हो । हामीले भएभरका प्रहरीहरूलाई प्रयोग गरिरहेका हुन्छौँ । अहिले प्रहरीको सङ्ख्या कम छ । आवश्यकताअनुसार जनशक्ति बढाउन लागिरहेका छौँ । विशेष अवस्थामा काठमाडौंमा बाहिरबाट पनि प्रहरी आएका हुन्छन् । पछि उनीहरू आफ्नै कोटामा फर्केर जाँदा काठमाडौंमा कम देखिन्छन् ।

अर्को कुरा, गुण्डा या टोले गुण्डा भन्ने शब्द प्रहरीका लागि सधै शत्रु हुन् । प्रहरी र गुण्डा कहिल्यै सँगै बस्दैनन् । यस्ता गुण्डालाई तह लगाउन सबैको सहयोग चाहिन्छ । सूचना दिनुस् । सूचना दिने व्यक्तिको हामी सुरक्षा लिन्छौँ । गुण्डाले तपाईंलाई जति तर्साउँछ, त्यति तर्सिनुहुन्छ । सुरक्षा हामी लिन्छौँ । तपाईं नतर्सिनुस् । ढुक्कसाथ परिसरमा आउनुस् ।

तपाईंको साथ भयो भने यी टोले गुण्डा, संगठित गुण्डालाई पनि समात्न सकिन्छ । हामीलाई सहयोग र सूचना चाहिएको छ । अहिले विभिन्न बहानामा सूचना त आउने गरेका छन् । सुषुप्त रुपमा अरुलाई अगाडि बढाएर आउने गरेका छन् । कति त आर्थिक कारोबारमा अरुलाई हिस्सा लिने गरी आएका हुन्छन् । यदि कसैले इच्छाविपरीत काम गर्छन् भने त्यो गुण्डागर्दी नै हो । प्रहरीको नियन्त्रणमा आइसकेको व्यक्ति छुट्यो भने झन् बढी आतङ्क गरेर सभामा पेश हुन्छ । त्यसैले हामीलाई सहयोग गर्नुस् ।

मुलुकी अपराध संहिता लागू हुनुअघि अनुसन्धानका लागि अभियुक्तलाई जुनसुकै बेला पक्राउ गर्ने अधिकार प्रहरीमा थियो । भदाै १ बाट संहिता लागू भएपछि अदालतको आदेशविना समात्न नपाइने भएको छ, यसले प्रहरीको अनुसन्धान प्रक्रियामा कस्ताे प्रभाव परेकाे छ ?

अहिले पनि जरुरी भएमा चौबीस घण्टा राख्न पाइन्छ ।  जरुरी पक्राउ पुर्जी लिएर हामीले मानिसलाई राख्न सक्छौँ । कसैले गलत काम गर्दैछ भने यस्तो अवस्थामा अदालतबाट स्वीकृत पुर्जी ल्याउन त नमिल्ने भयो । यस्तो अवस्थामा जरुरी पक्राउ पुर्जीको आवश्यता पर्दछ । अदालतबाट स्वीकृत गरेर ल्याउने पुर्जी पक्राउ पुर्जी भयो । अहिले देखिएको समस्या भनेको आधार खोज्नुपर्ने  पक्राउ पुर्जी समर्थन गराउनुपर्ने हुन् ।

काठमाडौंमा पहिले  १ सय ५० को हाराहारीमा मान्छे पक्राउ गरिएका हुन्थे । तर, अहिले २४÷२५ को दरमा आएको छ यसले प्रहरीलाई केही असहज छ तर पक्राउ गर्न सकिन्छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ?

नागरिक र प्रहरीको सहकार्यमा शान्ति सुरक्षाको सवाल तथा  नियन्त्रण अनुसन्धानको पक्षमा हामीले निचोडमा पुर्‍याउन सक्दैनौँ । हामी बर्दी सहितको प्रहरी हो जनता विनाबर्दीका प्रहरी हुन् । सबै मिलेर मात्र उत्कृष्टता हासिल गर्न सक्छौँ । हामी आफ्नो जिम्मेवारी पूरा गर्न हरपल लागेका छौँ । र पूरा पनि गर्छौँ । हाम्रो कामको नतिजा जनताले नै पाउने हो । त्यसैले हामी जनताको सेवामा समर्पित छौँ । हामीलाई काम गर्नका लागि तपाईंको सहयोगको आवश्यकता छ । जनताको निगरानी, सहयोग र सहकार्यको जरुरी छ ।

अबका दिनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाऔँ । सबै जनता नागरिक, मिडियाहरू र प्रहरी सहकार्य गरेर अगाडि बढौँ । अहिले नेपाल प्रहरीका कार्यक्रमहरू अगाडि बढिरहेका छन् । त्यसैले नागरिक र प्रहरी सहकार्य गर्न जरुरी छ यो अपरिहार्य छ यसले उपलब्धि सहितको निष्कर्ष निकाल्छ ।

भिडियो कुराकानीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?