‘साफ’ च्याम्पियनसिप: माल्दिभ्सविरुद्धको खेल ऐतिहासिक हुनेछ : प्रशिक्षक महर्जन

काठमाडौं । बंगलादेशमा जारी ‘साफ’ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधवार नेपालले माल्दिभ्सको सामना गर्दैछ । 

राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयानुसार पौने चार बजेपछि शुरु हुनेछ ।  सेमिफाइन अघि भएको पत्रकार सम्मेलनमा सम्मेलनमा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भोली ‘बुधवार’को दिन नेपाली फुटबलका लागि ऐतिहासिक हुने बताए । 

उनले भने ‘ नेपाल समग्रमा चौथो पटक सेमिफाइनलमा पुगेपनि अहिलेसम्म फाइनलसम्म पुग्न सकेको छैन् । माल्दिभ्सविरुद्धको खेल नेपालको लागि ऐतिहासिक बन्नेछ । हाम्रो खेलाडीहरु अहिले मेन्टली र फिजीकल्ली दुवै रुपमा फिट छन् । खेलाडीहरुले दिनप्रतिदिन प्रदर्शनमा सुधार गर्दैछन् ।’

प्रशिक्षक महर्जनले टिमले खेलको तीन खेलमा ७ गोल गर्न सफल भएका कारण मनोवल उच्च रहेको समेत बताए । 

यता, नेपालका कप्तान विराज महर्जनले अघिल्ला खेलको प्रदर्शनले गर्दा टिममा आत्मविश्वास बढेको जानकारी दिए ।  ‘सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा माल्दिभ्स पाउँदा खुसी छौं । हामी उत्कृष्ट खेल्नेछौं, जित निकाल्ने प्रयासमा हुनेछौँ ।’ उनले भने । 

त्यस्तै माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रटले नेपालसँगको खेलमा राम्रो खेल्ने बताए । समूह चरणको खेलमा माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको थिएन । पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा अंक बाँढेको माल्दिभ्स दोस्रो खेलमा भने भारतसँग २–० गोलले पराजित भएको थियो । 

प्रशिक्षक सेग्रटले नेपालको टिम धेरै राम्रो भएको प्रतिक्रिया दिए । साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भन दुई खेल बराबरीमा रोकिएको थियो ।

 समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?