काठमाडौं । असोज १२ गतेबाट प्रदर्शन हुने चलचित्र ‘कथा काठमाडौं’ को प्रोमो सोसियल साइट युट्युबबाट हटाउन चलचित्र विकास बोर्डले पत्र काटेको छ ।
‘कथा काठमाडौं’ को प्रोमो अश्लील दृश्यसहित प्रदर्शन भइरहेकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष निकिता पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यस प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त चलचित्रको प्रोमो हटाई सोको लिखित जानकारी बोर्डसमक्ष पेश गर्नुहुन समेत जानकारी गराइन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।
यता निर्देशक संगीता श्रेष्ठले भने फिल्ममा आफूले कला प्रस्तुत गरेको बताउँदै आएकी छिन् ।
बोर्डले प्रोमो नहटाए चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२६ र एै.एै नियमावली, २०५७ बमोजिम कारवाही गर्ने जनाएको छ ।
महिलामाथि हुने अन्यायविरुद्ध निर्माण गरिएको भनिएको यो चलचित्रले प्रोमोसनका क्रममा सार्वजनिक गरेको पहिलो गीत ‘रातको कुरा’ पनि निकै विवाद खेपेको थियो । सामाजिक सञ्जालमा समेत यो गीत उत्तिकै विवादित भएको थियो ।
खास गरी मोडलको भूमिकामा देखिएकी प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको इन्टिमेट दृश्यलाई दर्शकले गाली गरेका थिए ।
दर्शकले नेपालमा अझै यस्तो नपच्ने भन्दै विरोध जनाएका थिए । यद्यपि कुनै संस्था या महिला अधिकारकर्मी भने फिल्मका बारेमा केही बोलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया