काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिपश्चात नेपाली सेयर बजार सकारात्मक बनेको छ । आज आईतबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज सेयर बजार ३.०३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
राष्ट्र बैंक गत आर्थिक वर्ष ल्याएको सेयर धितो कर्जाको ४-१२ को सीमा संशोधन गरेको थियो । राष्ट्र बैंकले साना लगानीकर्तालाई हित हुनेगरी ४ करोडको सीमा हटाउँदै १२ करोडको सीमा कायम गरेको छ ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक १२.०९ अंकले बढेर ३९८.३३ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन १३ वटै सूचक हरियाली बनेको छ । यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक ३९ करोड ७१ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया